प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको बधाई

काठमाण्डौं, फागुन ११ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री भएकोमा हार्दिक बधाई दिएका छन् । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा तीनवटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको उल्लेख छ ।
अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताएका छन् ।