प्रधानमन्त्री ओलीको क्षेत्रमा २ अर्वको भ्यु टावर बनाउने तयारी

काठमाण्डौं, बैशाख २ ।
प्रधानमन्त्री केपी ओलीको चुनाव क्षेत्रमा भ्यु टावर बनाउने तयारी भएको छ । टावर निर्माणको लागि डिजाइन सम्पन्न भई बोलपत्रको तयारी भइरहेको छ । ओली सरकारले दमकको भ्यु टावरलाई संघीय संसद भवन निर्माणजस्तै ‘महत्वपूर्ण प्राथमिकताका कार्यक्रमहरु’ को सूची अन्तरगत राखेको छ ।

प्रधानमन्त्रीको चुनाव क्षेत्रमा दुई वर्ष्भित्र बन्ने यो भ्यु टावरमा सरकारले २ अर्ब खर्च गर्दैछ । स्थानीय तह र प्रदेश सरकारले अति आवश्यक पूर्वाधारहरुमा बजेट नपाएको गुनासो गरिरहेका बेला प्रधानमन्त्रीकै रहरमा दमकमा अर्बौं खर्चेर भ्यु टावर बनाउन लागिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

दमकमा २ अर्ब खर्च गरेर भ्यु टावर बनाउनुको साटो गरिब जनताको आवासमा रकम खर्च गरिनुपर्ने अडानमा शहरी विकास मन्त्री इस्तियाक राई रहेता पनि उच्चपदस्थ सरकारी कर्मचारीहरु प्रधानमन्त्री ओलीलाई खुशी पार्न भ्यु टावरको डिजाइनमा लागेको मन्त्रालय स्रोतको गुनासो छ ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओली दमक भ्यु टावर स्थानीय तहको कार्यक्रम वा योजनाअन्तरगत नभई शहरी विकास मन्त्रालय, सिंहदरबारको योजना अन्तरगत बन्न लागेको बताउँछन् । नगरप्रमुख ओलीले भने,‘यो माथि शहरी विकास मन्त्रालयअन्तरगतकै योजना हो, यसमा दमक नगरपालिका लगानी छैन ।’

प्रस्तावित भ्यु टावरको डिजाइन तयार भइसकेको र अब टेण्डर आह्वान हुन लागेको शहरी विकास मन्त्रालयले जनाएको छ । ०७५ फागुन मसान्तदेखि निर्माण सुरु गर्ने भनिए पनि ०७६ साल लागिसकेको छ । यो भ्यु टावर ०७८ साल फागुन मसान्तभित्र बनाइ सक्ने केन्द्रीय सरकारको योजना छ । अर्थ विज्ञहरुले चाहीँ अनावश्यक खर्च गर्ने पैसा सरकारसँग नभएको भन्दै औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । अनलाईन खवर ।