प्रधानमन्त्री ओलि र उपेन्द्र यादववीच भनाभन (कारण यस्तो छ)

काठमाण्डौं, मंसिर १९ ।
विवादास्पद एसिया प्यासिफिक सम्मेलन सकेर ‘जिससकी छोरी’ हाक जा हान मुन नेपालबाट अलप भइसकेकी छिन् । तर, यो सम्मेलनमा सरकारको सहभागितालाई लिएर मन्त्रिपरिषदमा हलचल मच्चिएको छ । सोमबारको क्याबिनेटमा समेत यसको प्रभाव प्रष्टै देखियो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री एवं स्वास्थ्य उपेन्द्र यादववीच चर्काचर्की भयो । झगडाको निहुँ क्षेत्रीय र अञ्चल अस्पतालहरुलाई ‘अपग्रेड’ गर्ने विषयमा केन्द्रित थियो । तर, विवादको अन्तर्यचाहिँ क्रिश्चियनको धार्मिकसभा नै भएको स्रोतले बतायो ।

स्रोतले भन्यो–‘सोमबारको बैठकमा संघीय समाजवादीका नेता उपेन्द्र यादवजीहरुले सरकारसँग अलिकति दूरी बढाएको जस्तो देखियो । बैठकमा अलि चर्काचर्की भयो ।’ बैठकमा सहभागी एक मन्त्रीका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले क्षेत्रीय एवं अञ्चल अस्पतालहरुलाई ५ सय बेडमा अपग्रेड गर्ने प्रस्ताव क्याबिनेटमा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारी अस्पतालहरुमा बेड थप्ने यादवको प्रस्तावलाई मानेनन् ।

प्रधानमन्त्रीले अहिले नगरौं, पछि गरौं भनेपछि उपेन्द्र यादव र शहरी विकास मन्त्री इस्तियाक राईसमेत प्रधानमन्त्रीमाथि खनिएको स्रोतले जानकारी दियो । संघीय समाजवादी फोरमले संविधान संशोधनको आफ्नो माग पूरा हुने अपेक्षासहित सरकारमा सहभागिता जनाएको हो । उसले आफ्नो एजेण्डा छाडेको आरोप पार्टी्भित्र र मधेसमा समेत लाग्दै आइरहेका बेला सोमबारको क्याबिनेटमा यादव र ओलीवीच दुरी बढ्नु अर्थपूर्ण रहेको नेकपाका नेताहरुको विश्लेषण छ ।

क्याबिनेट बैठकमा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई लिएर पनि केहीबेर विवाद भएको स्रोतले बतायो । विष्टले इटहरी, बुटवल लगायतका शहरमा सीपमूलक तालिम केन्द्रहरु स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदमा ल्याएका थिए, जसलाई प्रधानमन्त्री ओलीले ‘ड्रप’ गरिदिए ।–अनलाईखवर