प्रधानमन्त्रीले बालुवाटारबाटै शासन चलाईरहेका छन् : कांग्रेस सांसद रायमाझी

 

काठमाडौं, माघ ५ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति आलोचना गरेका छन् ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा कांग्रेस सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री ओली प्रधानमन्त्री कार्यालय सिंहदरवार आउन छोडेर सरकारी निवास बालुवाटारबाटै शासन चलाईरहेको आरोप लगाएका छन् ।

उनले आफ्नो कार्यालयबाट दैनिक कार्यसञ्चालन गर्न नसके सिंहदरबारको प्रधानमन्त्री कार्यालय बन्द गर्न सुझाव दिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद कोमल वलीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नकारात्मक टिप्पणी बेठिक भएको भन्दै उक्त परियोजना संसदबाट पारित गर्नुपर्ने बताइन् ।

उनले एमसीसी परियोजना रोकेर अरु दातृ निकाय पनि तर्सिने डर भएको जिकिर गरीन् । सांसद बिमला राई पौडेलले संसद सचिवालयकका कर्मचारीको उदाहरण दिँदै आफ्नो जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई बर्खास्त गरेर काम गर्ने कर्मचारी करारमा भर्ना गर्न माग गरीन् ।

सांसद राजकुमार कुँवरले १० वर्षे सशस्त्र द्वन्द्वकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको भन्दै घाइते योद्धालाई बेवास्ता गरिएको गुनासो गरे । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशु मधेशी गुरुङले ‘संघ,प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक,२०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरे ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रस्ताव गर्नुभएको ‘रेल्वे विधेयक,२०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी अन्तर्गतको पार्लेमो अभिसन्धी’स्वीकृत गरेको छ ।
(ईमेजखबरबाट साभार)