प्रदेश ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त

धनगढी, फागुन ३ ।
प्रदेश सातको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई नियुक्त गरिएको छ । उनी केही दिनअघि माओवादी केन्द्रको संसदीय दलको नेतामा सर्वसम्मत भएका थिए । बिहीबार मध्यान्न साढे १२ बजे प्रदेश प्रमुख मोहनराज मल्लले बहुमत प्राप्त दलको नेताका रुपमा भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा दुई वमोजिम प्रदेश प्रमुख मल्लले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
डोटीको प्रदेश निर्वाचन क्षेत्र ख बाट माओवादी केन्द्रको टिकटमा निर्वाचन जितेका भट्टले बुधबार ३७ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । प्रदेश ७ मा एमालेका २५ र माओवादी केन्द्रका १४ गरि दुई तिहाइ बहुमत रहेको छ । मुख्यमन्त्रीमा नियुक्त भट्टको पद तथा गोपनियताको सपथ फागुन ५ गते दिउँसो ३ बजे हुन प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्रीसँगै सानो आकारको मन्त्रीमण्डल समेत गठन हुने जानकारी दिइएको छ ।