प्रदेश ६ को नाम कर्णाली, राजधानी वीरेन्द्रनगर (यसरी टुंगियो)

सुर्खेत, फागुन १२ ।
सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको स्थायी राजधानी भएको छ । आज बसेको प्रदेश संसदको चौथो बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव पारित भएसँगै कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको हो । प्रस्ताव पेश गर्दै सांसद शाहीले यो प्रदेशको राजधानी सुर्खेतको विकल्प नभएको धारणा राखेका थिए । उक्त प्रस्तावमाथि एमाले सांसद गुलावजंग शाह र गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए ।
प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद अमरबहादु थापाले सुर्खेतबाट सञ्चालन हुने प्रदेश सरकारको कामकारबाहीले प्रदेशका १० वटै जिल्लालाई समान रुपमा हेर्नुपर्ने बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सुर्खेतलाई राजधानी बनाउने विषयमा आफ्नो विरोध नरहेको भन्दै आफूले यसअघि उठाउँदै आएको दुई वटा राजधानी बनाउने कुराले कर्णालीलाई संघीयताको अनुभूति दिलाउन सकिने धारणा राखे। उनले दुई वटा राजधानी बनाउनुपर्ने धारणा राखेका छन् ।
सांसद यज्ञबहादुर बिसीले राजधानीका लागि आवश्यक पूर्वाधारका हिसाबले सुर्खेत नै उपयुक्त हुने बताए । सांसद धर्मराज रेग्मी, कुर्माराज शाही, देवी वली, विन्दमान विष्ट, ठम्मरबहादुर विष्टले संसद बैठकमा राजधानी सम्बन्धी प्रस्तावको छलफलका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेत नै उपयुक्त भएको बताएका थिए । उक्त प्रस्तावमाथि मतविभाजन हुँदा सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी बनाउनुपर्ने पक्षमा ३६ मत र विपक्षमा एक मत परेको थियो ।