प्रदेश ४–सभामुख र मुख्यमन्त्रीको तयारीमा दलहरु

पोखरा, माघ २३ ।
सभामुखको चुनावका लागि फागुन ३ गते १ बजे प्रदेशसभाको दोश्रो बैठक बस्दैछ । वाम गठबन्धनबीचको भागबण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने सहमति छ । अहिले दुवै दल सभामुख र मुख्यमन्त्रीको तयारीमा जुटेका छन् । २४ गतेको राष्ट्रियसभा चुनाव लगत्तै बैठक बसेर आफ्ना उम्मेदवार टुंगो लगाउने नेताहरु बताउँछन् । मुख्यमन्त्रीमा एमालेका किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ दावेदार हुन् । दुवै नेताले आँफै मुख्यमन्त्री बन्ने दावी पेस गरेका छन् । दुवैको दावी परेपछि एमालेले आन्तरिक प्रतिश्पर्धाबाट संसदीय दलको नेता (मुख्यमन्त्री) टुंग्याउने बुझिएको छ । संसदीय दलको नेता छान्न माघ २८ गते एमालेले बैठक डाकेको छ । उता सभामुखमा भने माओबादीका हरिबहादुर चुमान प्रमुख दावेदारको रुपमा देखिएका छन् । उनको विकल्पमा कास्कीका दिपक कोइराला अघि सरेका छन् । उच्च श्रोतका अनुसार चुमानलाई नै सभामुख बनाउने बिषयमा केन्द्रिय कमिटीले निधो गरिसकेको छ । ‘उनलाई सभामुख बनाएर कास्कीका रामजी बराल र गायत्री गुरुङलाई मन्त्री बनाउने कुरामा लगभग टुंगिएको छ, श्रोत भन्छ–संसदीय दलको नेतामा आसा कोइरालालाई अघि सारिएको छ ।’ केन्द्रिय कमिटिले अवसर पाईसकेका ब्यक्तिलाई दोहोरो अवसर नदिने निर्णय गरेका कारण यसअघि सभामुखमा आशाको नाम सुनिएपनि दोश्रो ब्यक्तिको खोजी भएको हो । आशा यसअघि नै केन्द्रिय मन्त्री भैसकेकी छिन् । माओबादीले पनि राष्ट्रियसभाको चुनाव सकिएलगत्तै बैठक बसेर उम्मेदवार प्रश्तुत गर्ने जनाएको छ ।
उता प्रमुख प्रतिपक्षी पार्टीको रुपमा हेरिएको नेपाली काँग्रेसबाट संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली अगाडी छन् । पूराना नेता समेत भएकाले उनको नाम अघि सारिएको काँग्रेस श्रोत बताउँछ । तर अर्का सांसद विन्दुकुमार थापाले पनि संसदीय नेता बन्ने आकांक्षा देखाएका थिए । उनलाई सार्वजनिक लेखा समितिको संयोजक बनाउने गरी नेपाली संसदीय दलको नेतामा अघि सरेका हुन् । यद्यपी नेपालीले आफ्नो आकांक्षा भएपनि अरु सांसदहरुसँग सल्लाह गरेर मात्रै सार्वजनिक गर्ने बताउँछन् । ‘मैले मात्रै भनेर हुने होईन । सांसद भएपछि सबैको दावी हुन्छ, उनले भने–साथीहरुसँग सल्लाह गरेर एकजनाको नाम निर्विरोध रुपमा छनौट गर्छौं । छिटै सार्वजनिक होला ।’ सभामुख र उपसभामुख चयन भैसकेपछि मात्रै मुख्यमन्त्री र अन्य मन्त्रीमण्डल विस्तारमा लाग्ने दलहरु बताउँछन् ।