प्रदेश ४ लाई तमुवान–मगरात नाम राख्न संघीय फोरमको माग

पोखरा, फागुन १० ।
संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर ४ को नाम तमुवान–मगरात राख्न माग गरेको छ । प्रथम प्रादेशिक भेलामा संकल्प प्रश्ताव पारित गर्दै फोरमले नेपालमा ११ प्रदेश बनाउनुपर्ने माग अघि सारेको हो । ‘पहिचान र सामथ्र्यका आधारमा देशमा १०+१ प्रदेश बनाउनुपर्छ । यसका लागि समय लाग्न सक्छ, फोरम भन्छ–अहिलेलाई स्वायत्त क्षेत्र निर्धारण गरी प्रदेश ४ लाई तमुवान–मगरात नाम राखियोस् । पछि तमुवान र मगरात छुट्टाछुट्टै प्रदेश हुनुपर्छ ।’
संघीय फोरमले विभिन्न १६ बुँदे संकल्प प्रश्ताव राखेको छ । विभिन्न नाममा हुने छुवाछुत र भेदभाव अन्त्य, राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व, संविधान संशोधन मार्फत यसअघिका सबै सन्धी सम्झौता कार्यान्वयन, श्रोत साधनको वैज्ञानिक अध्ययन गरी सबै आदिबासी जनजातिलाई प्राथमिकताको अधिकार सुनिश्चित गर्न दवाव सिर्जना गर्ने तमुवान मगरात प्रादेशिक समितिका अध्यक्ष दीपक तामाङले जानकारी दिए । उनका अनुसार एक बर्ष भित्र टोल र बस्तीमा संगठन, दुईबर्षमा बलियो बैकल्पिक शक्ति र पाँचबर्षभित्र प्रदेश सरकार गठन गर्ने योजना बनाएको छ ।
बुधबार पत्रकार सम्मेलन गरी संकल्प प्रश्ताव बारे जानकारी गराईएको हो । संघीय फोरमले विदेशी लगानी भित्र्याउने, कृषिको आधुनिकीकरण गर्ने, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण, खेलकुदको हव बनाउने, पोखरादेखि काठमाण्डौं, लुम्बिनी, कोरला नाका जोड्ने दु्रतमार्ग निर्माण, भ्रष्टाचार अन्त्य लगायतका बिषयमा जोडदार आवाज उठाएको छ । यसलाई कार्यान्वयन गराउन निरन्तर पहल र संघर्षका कार्यक्रम तय गर्ने संघीय समाजवादी फोरम नेपालका हुम तमुले जानकारी दिए ।