प्रदेश ४ मा ७ गाउँपालिकाको नाम फेरियो (नामावली सहित)

प्रकाश ढकाल
पोखरा, माघ ६ ।
नेपाल सरकारले ४ नम्बर प्रदेशका ७ वटा गाउँपालिकाको नाम फेरिदिएको छ । १ नगरपालिका सहित ८ तहको केन्द्र सारिएको छ । सम्वन्धित गाउँ र नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ उपदफा ५ बमोजिम सम्बन्धित नाम र केन्द्र नमिले गाउँसभा वा नगरसभाको सिफारिसमा सरकारले परिवर्तन गर्नसक्ने ब्यवस्था गरिएको थियो । सोही ब्यवस्थाका आधारमा नाम र केन्द्र फेरिएको हो । विशेषगरी हिमाली जिल्लामा रहेका स्थानीय तहहरुको नाम फेरिएको छ । भर्खरै हिमाली जिल्लाको रुपमा दर्ज भएको गोरखामा सुलिकोट र भीमसेन गाउँपालिकाको नाम फेरिएको छ । सुलिकोट गाउँपालिकालाई बारपाक सुलिकोट गाउँपालिका बनाईएको छ भने भीमसेन गाउँपालिकाको नाम परिवर्तन गरी भीमसेन थापा गाउँपालिका कायम गरिएको छ । भीमसेन गाउँपालिकाको केन्द्रपनि हेरफेर भएको छ । यसअघि बगुमामा केन्द्र राखिएकोमा हाल मसेलको घ्याम्पेसालमा केन्द्र तोकिएको हो ।
तनहूँको घिरिङ गाउँपालिकाको केन्द्र सारिएको छ । गजरकोटमा रहेको केन्द्र पोखरीछापमा लगिएको हो । मनाङमा पनि नाशोङ गाउँपालिकाको नाम फेरेर नासोँ गाउँपालिका बनाईएको छ भने नेस्याङलाई मनाङ ङिस्याङ र नारफू गाउँपालिकालाई नार्पा भूमि गाउँपालिकाको रुपमा नामाकरण भएको छ । नेस्याङको केन्द्र पनि मनाङ गाविसबाट सारेर हुम्डेमा पु¥याईएको छ भने नारफूको साविक नार गाविसबाट वडा नम्बर ३ को च्याँखुमा लगिएको छ । स्याङजाको गल्याङ नगरपालिकाको केन्द्र फेरिएको छ । जगत्रदेवी गुठीमा राखिएको केन्द्र गल्याङ बजारमा लगिएको सरकारले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।
यसैगरी, मुस्ताङका बाह्रगाउँ मुक्ति क्षेत्र र दालोमे गाउँपालिकाको पनि नाम फेरिएको छ । बाह्रगाउँ मुक्तिक्षेत्रको नाम वारागुङ मुक्तिक्षेत्र भएको छ भने दालोमेलाई लो–घेकर दामोदरकुण्ड गाउँपालिका बनाईएको छ । म्याग्दीमा ३ वटा गाउँपालिकाको केन्द्र हेरफेर भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र साविक पाखापानी गाविसको कार्यालयबाट रघुगंगा ३ मौवाफाँटमा सारिएको छ । धवलागिरीको मुनाबाट सातमुले घट्टेखोलामा गाउँपालिकाको केन्द्र लगिएको छ । अन्नपूर्ण गाउँपालिकाको पनि घारबाट सारेर पोखरेबगरमा पु¥याईएको छ । स्थानीय सरकारले आफ्नो पहिचानलाई स्थापित गर्ने उद्देश्यले बहमतको सहमतिबाट नाम र केन्द्र फेर्न केन्द्रमा सिफारिस गरेका हुन् ।