प्रदेश ४ मा सबैभन्दा धेरै बजेट गोरखामा, सबैभन्दा कम मनाङलाई (सबै जिल्लाको हेर्नुस्)

प्रकाश ढकाल
पोखरा, जेठ १६ ।
सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा प्रदेश ४ का स्थानीय तहलाई करिब २३ अर्व रुपैयाँ परेको छ । ८५ स्थानीय तह रहेको प्रदेश ४ मा २२ अर्व ८१ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

विनियोजित बजेटमध्ये सबैभन्दा धेरै गोरखामा छ । गोरखालाई आगामी बर्षमा खर्च हुने गरी ३ अर्व १९ करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको छ । सबैभन्दा कम चाहीँ मनाङलाई ४४ करोड ३१ लाख रुपैयाँ मात्रै बजेट छ । धेरै बजेट पाउने दोश्रो सूचीमा स्याङजा छ । स्याङजाले २ अर्व ९७ करोड रुपैयाँ पाएको छ ।

यस्तै तनहूँले २ अर्व ८७ करोड, कास्कीले २ अर्व ७९ करोड, बागलुङले २ अर्व ५६ करोड रुपैयाँ पाएका छन् । नवलपुरले २ अर्व १९ करोड, लमजुङले १ अर्व ९८ करोड, पर्वतले १ अर्व ८९ करोड, म्याग्दीले १ अर्व २७ करोड र मुस्ताङले ६२ करोड ७० लाख रुपैयाँ बजेट पाएका छन् ।

भूगोल र जनसंख्या तथा मानव विकास सूचकाकंका आधारमा बजेट विनियोजन गर्ने प्रावधान छ । प्रदेश ४ का ११ वटै जिल्लालाई भाग लगाउँदा ८ अर्व ४८ करोड वित्तिय समानिकरण तर्फको बजेट छ भने १४ अर्व हाराहारीमा सशर्त अनुदान छ ।