प्रदेश ४ मा राष्ट्रियसभाको उम्मेदवारी दर्ता (फोटो फिचर)

प्रकाश ढकाल
पोखरा, माघ ११ ।

माघ २४ मा हुने राष्ट्रियसभा चुनावका लागि ४ नम्बर प्रदेशबाट १२ जनाले उम्मेदवारी दिएका छन् । बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखराबाट उनीहरुले मनोनयन दर्ता गराएका हुन् । एमाले माओबादीको बाम गठबन्धनबाट ६ जना र काँग्रेसले ४ जना उम्मेदवार अघि सारेको छ । उता राष्ट्रिय जनमोर्चाले पनि २ जना उम्मेदवारको उम्मेदवारी दर्ता गरायो ।   
गठबन्धनमा एमालेले ४ र माओवादीले २ सीट बाँडेका छन् । प्रत्येक प्रदेशबाट राष्ट्रियसभामा ८ जनाका दरले निर्वाचित हुने संबैधानिक ब्यवस्था छ । त्यसमध्ये ६ जना (महिला र खुला) एकल संक्रमणीय ब्यवस्थाबाट निर्वाचित हुनेछन् भने २ जना (दलित तथा अपाङ्गता भएका) बहुमतीय प्रणालीबाट चुनिनेछन् ।
प्रदेश ४ मा वाम गठबन्धनबाट खुला सदस्यमा पर्वतका गणेश तिमिल्सीना र बागलुङका दिननाथ शर्मा उम्मेदवार बनेका छन् भने महिलामा बागलुङकै शान्ती जिसी र लमजुङकी दीपा गुरुङ छिन् । अपाङ्गतर्फ स्याङजाका रामबहादुर थापा र दलितमा स्याङजाकै खेमबहादुर विक सदस्यको उम्मेदवार बनेका छन् । काँग्रेसले खुलामा गोरखाका सुरेन्द्र पाण्डेलाई अघि सारेको छ भने महिलामा कास्कीकी बृन्दा राना उम्मेदवार बनिन् ।
दलिततर्फ पर्वतका जीतबहादुर नेपाली र अपाङ्गता भएकाको कोटामा तनहूँका प्रकाश पन्थले मनोनयन दर्ता गराए । खुला र महिलामा मात्रै उम्मेदवारी दिएको जनमोर्चाका लागि महिलामा मीना पुन र खुलामा कृष्ण अधिकारी छन् । दुवैजना बागलुङका हुन् ।
उम्मेदवारी दर्ता गरेपछि नेताहरुले तीन चरणको चुनाव सकिएपछि हुन लागेको राष्ट्रियसभाको चुनावले राजनीतिक संक्रमण अन्त्य गर्ने प्रतिक्रिया दिए । उनीहरुले देश संघीयता कार्यान्वयन गर्ने चरणमा आईपुगेको भन्दै राष्ट्रलाई समृद्ध बनाउने कडीको रुपमा राष्ट्रियसभालाई परिभाषित गरेका छन् । नेपाली काँग्रेसबाट खुला सदस्यमा उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे मुलुकको हितका लागि भएपनि एकलकाटे शैलि अन्त्य गर्नुपर्ने बताउँछन् । उनले मुलुकको समृद्धी सबै दलको साझा एजेण्डा भएकाले सँगसँगै जानुपर्नेमा जोड दिए ।
माओवादी नेता दिननाथ शर्माले देशलाई शान्ति र आर्थिक समृद्धीको दिशामा लैजाने सही समय आएको बताए । उनले चुनावपछि देशले गति लिने भन्दै जनता र राष्ट्रको आवश्यक्ता पूरा गर्ने दायित्व आगामी सरकारले लिने दावी गरे । एमालेका नेता गणेश तिमिल्सीना पनि चुनावले समृद्धीको ढोका खोल्ने सुनाउँछन् । उनले नेपाल लामो समयसम्म राजनीतिक अस्थिरताका कारण विकासको बाटोमा नहिडेको भन्दै यसको अन्त्य राष्ट्रियसभाको चुनाव भएको बताए । काँग्रेस नेतृ बृन्दादेवी रानाले संविधानले समानुपातिक र समाबेशी अधिकारको ब्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयन अहिलेको चुनाव भएको उल्लेख गरिन् ।