प्रदेश ४ मा बजेटको बाटो फुक्यो, ३० अर्व हाराहारीमा बजेट आउँदै

प्रकाश ढकाल
पोखरा, असार १ ।
प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक बर्षको बजेट ल्याउँदै छ । त्यसका लागि विहिबार बजेट बारे २ वटा विधेयक पारित भएको छ । प्रदेश कर तथा गैरकर राजस्व उठाउने विधेयक र प्रदेश वित्त ब्यवस्थापन विधेयक सदनबाट पारित भएको हो । दुवै विधेयक जेठ २७ को प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्तुत गरेका थिए ।

मन्त्री गुरुङले दुवै विधेयक विहीबारको प्रदेशसभा बैठकमा पारितका लागि पेश गरेकोमा बहुमतले पारित गरेको थियो । सांसदहरु मिनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ, चन्द्रबहादुर बुढा, कृष्ण थापा, बिन्दुकुमार थापा र दोबाटे विश्वकर्माले विधेयकमाथिका छलफल गरेका थिए । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री गुरुङले सरकारको बजेट नै राजस्वमा केन्द्रित हुने भएकोले राजस्व संकलनमा सरकारको जोड रहेको बताए ।

विधायन समितिबाट संसदमा पेश भएको कर तथा गैर कर उठाउने सम्बन्धि बिधेयकमाथी सांसद हरिशरण आचार्यले गरेको संशोधन प्रश्ताव अस्किृत भएको छ । विधेयकको दफा १३ (२) ले कृषिको आयमा पनि कर लगाउने ब्यवस्था गरेकोमा यसलाई हटाउन सांसदहरुले सुझाव दिएपनि संशोधन अस्किृति भएको हो ।

आचार्यले सोलोडोलो गरेर कृषि उपजमा कर लगाउदा प्रदेश सरकारको नीति विपरित हुने बताए । सरकारले किसानलाई अनुदान दिने र बाँझो जग्गालाई उत्पादनशिल काममा लगाउने नीति अवलम्बन गरेको छ । गैरव्यवसाय, निर्वाहमुखी र साना किसानले उत्पादन गरेको बस्तुमा कर लिन नमिल्ने भन्दै उनले संसोधन प्रस्ताव दर्ता गराएका थिए ।

संशोधन प्रश्तावमाथी बोल्दै मन्त्री गुरुङले किसान र कृषि उपजमा नभई प्रारम्भीक विक्रि गर्दा मात्रै कर लगाउने नीति सरकारले लिएको जानकारी गराए । वित्त ब्यवस्थापन विधेयकमाथीको छलफलमा सहभागी हुँदै काँग्रेस सांसद मणिभद्र शर्माले आर्थिक बर्षको अन्त्य असारबाट सारेर चैत मसान्तलाई बनाउनुपर्ने सुझाव दिएका छन् ।

विधेयकलाई एमाले सांसद धनञ्जय दवाडीले पनि सुझाव दिएका थिए । सरकारले शुक्रबार प्रदेशको बजेट सार्वजनिक गर्दैछ । २६ देखि ३० अर्व हाराहारीमा बजेट ल्याउने तयारी भएको अर्थ मन्त्रालयले जनाएको छ । २३ अर्व हाराहारी केन्द्रिय अनुदान, ३ अर्व आन्तरिक राजश्व र बाँकी रकम आन्तरिक ऋण र अन्य श्रोतबाट प्राप्त हुने अर्थ मन्त्रालयको भनाई छ । यसअघि पारित भएको नीति तथा कार्यक्रमको सीमाभित्र रहेर बजेट आउने मन्त्री गुरुङ बताउँछन् ।