प्रदेश ४ मा नयाँ शक्तिको भोट काँग्रेसलाई, तीन पार्टीको मिश्रित परिणाम

प्रकाश ढकाल
पोखरा, माघ २५ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ४ को बाहुल्यता बाम गठबन्धनमा पर्यो । कुल ८ सीट रहेको यो प्रदेशबाट ५ सीट वाम र बाँकी ३ सीट काँग्रेसको भागमा छ । वाम गठबन्धनभित्र पनि एमालेले ३ र माओवादीले २ सीट जित्यो । ६ सीट जित्ने लक्ष्यसहित उम्मेदवारी दिएको गठबन्धनले एउटा सीट उम्मेदवारकै कमजोरीले गुमाउन पुग्यो । अपाङ्गता तर्फको कोटामा उम्मेदवारी दिएका रामबहादुर थापाको अपाङ्गता प्रमाणीत गर्ने कागजपत्र नमिलेपछि उनको उम्मेदवारी खारेजीमा परेको थियो । उनका प्रतिश्पर्धी काँग्रेसका प्रकाश पन्थ अघिल्लो साता नै निर्विरोध निर्वाचित भैसकेका मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।
बुधबार भएको चुनावमा ७ पदका लागि १० उम्मेदवार प्रतिश्पर्धामा थिए । मतपरिणाम अनुसार राष्ट्रियसभाको खुला सदस्यमा एमालेका गणेशप्रसाद तिमिल्सीना, काँग्रेसका सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका दिननाथ शर्मा बिजयी भएका छन् । सबैभन्दा बढी ९९ मत पाएका पाण्डेको मतभार २ हजार २ सय ६२ छ । ५४ भोट पाएका तिमिल्सीनाको १ हजार ७ सय ८२ र ६५ मत पाएका शर्माको १ हजार ५ सय ३० मतभार छ । प्रतिश्पर्धी जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले आफ्नो मत सुरक्षित मात्रै गरे । जनमोर्चाको ६ मतमा १ सय ९८ मतभार थियो । प्रदेश ४ मा काँग्रेसको ९६ मत हो भने २ हजार २ सय १८ मतभार थियो । पाण्डेले प्रदेशसभा सदस्यको १ र स्थानीय तहको २ मत पार्टीको भन्दा बढी पाएका छन् । वाम गठबन्धनले भने आफ्नो पार्टीको भन्दा कम मत पाएको छ । प्रदेशसभातर्फको सबै मत सुरक्षित गरेपनि स्थानीय तहतर्फको ८२ मध्ये २ मत गुमाएको छ । एमालेका बिजयी उम्मेदवार तिमिल्सीनाले प्रदेशसभातर्फ एमालेको २७ मत पाएका छन् भने स्थानीय तहतर्फ आफ्नो पार्टीको ७० मत मध्ये २७ मात्रै लिएर बाँकी मत माओबादी केन्द्रका उम्मेदवार शर्मालाई दिएका छन् । खुला सदस्यतर्फ ५ मत बदर छन् । एउटा प्रदेशसभा र ४ वटा स्थानीय तहको मत बदर भएको क्षेत्रिय निर्वाचन कार्यालय पोखराले जनाएको छ । प्रदेशसभातर्फको मतमा अंक दिनुपर्नेमा रुख चिन्हमा ठीक लगाएको भेटिएको छ । स्थानीय तहका अधिकांश मत गठबन्धनतर्फको विग्रिएको छ ।
महिलातर्फ एमालेकी दीपा गुरुङ र शान्ति अधिकारी तथा काँग्रेसकी बृन्दादेवी आले बिजयी भए । सबैभन्दा बढी ९८ मत पाएकी आलेको २ हजार २ सय ७४ मतभार छ । उनले प्रदेशसभातर्फ पार्टीको भन्दा २ मत बढी पाईन् भने स्थानीय तहमा आफ्नै मात्र मत सुरक्षित गरेकी छिन् । एमालेकी गुरुङले ५२ मतका साथ १ हजार ७ सय १६ मतभार पाईन् भने अधिकारीले ६४ मतका साथ १ हजार ५ सय १२ मतभार प्राप्त गरिन् । गठबन्धनले महिला सीटमा प्रदेशसभाको १ मत र स्थानीय तहको ३ मत गुमाएको छ । जनमोर्चाकी मीना पुनले पार्टीभन्दा २ मत बढी पाईन् । उनले ८ मतबाट २ सय ३४ मतभार पाएकी हुन् । महिला कोटामा ७ वटा मत बदर भेटिएको छ । प्रदेशसभाको एउटा भोट काँग्रेसतर्फ बदर भएको र स्थानीय तहको ६ मध्ये २ वटा काँग्रेस र ४ वटा गठबन्धनमा बदर देखिएको हो ।
दलितकोटामा बाम गठबन्धनबाट माओबादीका खेमकुमार विक निर्वाचित भएका छन् । बहुमतिय प्रणाली अन्तर्गतको मतदानमा उनले निकटतम प्रतिश्पर्धी काँग्रेसका जीतबहादुर नेपालीलाई हराए । विकले १ सय २२ मतका साथ ३ हजार ३ सय ९६ मतभार पाए । नेपालीको भने १ सय १ मतमा २ हजार २ सय ९८ मतभार मात्रै छ । दलितकोटामा दुवै प्रतिश्पर्धीले आफ्ना पार्टीको भन्दा बढी मत पाएका छन् । विकले प्रदेशसभातर्फको १ पार्टीभन्दा बढी पाए भने नेपालीले प्रदेशसभाको १ तथा स्थानीय तहको ४ मत बढी पाए । दलित कोटामा मात्रै ६ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । बदरमध्ये ५ वटा खाली र एउटा मतपत्रमा ठीक लगाउनुपर्नेमा अंक लेखेको भेटिएको थियो । जनमोर्चाको आफ्नो उम्मेदवार नभएका कारण खाली छोडेर बदर भएको हुन सक्छ ।
राष्ट्रियसभाको चुनावमा नयाँ शक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको भोट नेपाली काँग्रेसमा गएको देखिन्छ । यद्यपी उनीहरुले औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । मत बिभाजनका आधारमा मात्रै अड्कल गरिएको हो । प्रदेशसभा तर्फ जनमोर्चाले आफ्नो भोट सुरक्षित गरेको अवस्थामा नयाँ शक्तिको मात्रै २ भोट बढी थियो । त्यो मध्ये एउटा भोट नेपाली काँग्रेसमा गएको देखिन्छ भने एउटा चाहीँ काँग्रेसकै चिन्हमा बदर भएको छ । ६० मध्ये ५९ मत खसेकोमा एउटा बदर छ । स्थानीय तहमा राप्रपाको २ भोट थियो । त्यही भोट नेपाली काँग्रेसका सुरेन्द्र पाण्डेको भागमा परेको देखिन्छ । समग्रमा सबै पदमा गरी १८ वटा मत बदर भएको छ । जनप्रतिनिधीले नै बदर हुने गरी मतदान गर्दा मतदाता शिक्षाको कमी भएको स्पष्टै बुझिन्छ । राष्ट्रियसभामा निर्वाचित सबै सांसदलाई बुधबार नै प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रियसभामा एक प्रदेशसभा सदस्यको मतभार ४८ तथा गाउँ÷नगरपालिकाको मतभार १८ थियो । निर्वाचनमा सहभागी गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले राष्ट्रियसभाले राष्ट्रको हितका लागि काम गर्ने विश्वास व्यक्त गरे । निर्वाचित जनप्रतिनिधिहरुले दलभन्दा माथि उठेर देशको नीति–निर्माणमा सही सल्लाह र सुझाव दिन उनीहरुको आग्रह छ ।
यसैबीच, प्रदेश ४ मा राष्ट्रियसभाको निर्वाचनमा किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वत, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले बुधबारको चुनावमा भोट हालेका हुन् । उनी नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन् । राष्ट्रियसभाको निर्वाचनमा मनाङबाट निर्वाचित भएका सांसद राजीव गुरुङ (दीपक मनाङे) सहभागी भएनन् । प्रदेशसभाको शपथअघि नै सर्बोच्चको कैद सजाएँ पछि फरार उनी प्रदेशसभाको पहिलो बैठकमा पनि सहभागी भएका थिएनन् । हालसम्म पनि उनी फरार नै छन् ।