प्रदेश ४ मा थपिएका ३ मन्त्री को हुन् ? (पढ्नुस् पूरा विवरण)

प्रकाश ढकाल
पोखरा, चैत १३ ।
प्रदेश ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास मन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन् । उद्योग मन्त्रीमा यसअघि रामशरण बस्नेत थिए । बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री बनाएर लम्साललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिईएको हो । यसअघि नवलपुरका सांसद रोशन गाहा थापालाई मन्त्री बनाउने तयारी भएपनि किरण गुरुङ सरकारमा आउने मन गरेपछि गाहालाई पछि हटाईएको श्रोत बताउँछ । गुरुङ तनहूँ, पुन म्याग्दी र लम्साल पर्वतका सांसद हुन् । गुरुङ र पुन केन्द्रिय क्याविनेटको समेत अनुभव सँगालेका ब्यक्ति हुन् भने लम्साल सांसदमा निर्वाचित भएर काम गरिसकेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख बाबुराम कुवँरले उनीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । प्रदेश ४ मा गएको फागुन ४ गते नै मन्त्रीपरिषद् गठन भएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित उद्योगमन्त्री बस्नेतले सँगै शपथ लिएका थिए भने सोही दिन माओबादी तर्फबाट हरिबहादुर चुमान र लेखबहादुर थापा मन्त्री बनेका हुन् । चुमान आन्तरिक मामिला तथा कानुन र थापा भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । नयाँ मन्त्रीहरुले सोमबार शपथ लिएपछि पदभार समेत सम्हालेका छन् ।
किरण गुरुङ
२०१७ सालमा तनहूँमा जन्मिएका किरण गुरुङ तनहूँबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । नेपाली कम्युनिष्ट आन्दोलनका एक हस्ती उनी गोरखा भर्ति विरुद्धको आन्दोलनका सदस्य हुन् । २०३५ सालमा उनी राजनीतिमा नजिक भएका हुन् । विद्यालय जिवनमै कम्युनिष्ट नेताहरुको जीवनीबारे बुझिसकेका उनलाई कम्युनिष्ट पार्टीको राजनीति गर्न खास गाह्रो भएन । कास्कीमा पहिलोपटक कम्युनिष्ट पार्टीको क्रान्तीकारी संगठन ‘रेड गार्ड स्क्वायर’ निर्माण भयो । नेता बामदेव गौतमले निर्माण गरेको टीमा उनी पनि थिए । र पार्टीको निर्देशन अनुसार बहुदलको पक्षमा अभियान थाले । सुरुमा उनी पोखराकै बाटुलेचौरदेखि अर्मला पुरुञ्चौरसम्मको भुगोल जिम्मा लिएर काम गरेका हुन् । त्यसपछि पूर्णकालिन कार्यकर्ता हुँदै अघि बढे । भूमिगत राजनीतिसँगै उनले पार्टीको विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर कुशलतापूक नेतृत्व बहन गरेका छन् ।
२०३६ सालमा कास्कीको उपसचिवहुँदै सचिव र नेकपा मालेको पश्चिम–उत्तर क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारी पूरा गरे । २०३९ सालमै बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज हुँदा गण्डकी र धौलागिरी अञ्चललाई उनको कार्यक्षेत्र थियो । त्यस्तै २०४५ सालमा स्याङ्जाको सचिव, २०४६ पछि गण्डकी र धौलागिरीको पालैपालो सचिव, २०४७ सालमा माले माक्र्सवादी एकीकरणपछि पार्टीको रापस हुँदै २०४८ सालको आम निर्वाचनमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०४९ सालको पाँचौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निवार्चित भएपछि उनी निरन्तर केन्द्रीय कमिटीमा छन् । नेकपा एमालेको नवौं महाधिवेशनपछि उहाँ पार्टीको सर्वोच्च निकाय स्थायी कमिटीमा हुनुहुन्छ । २०६४ को संबिधानसभा निर्वाचनमा तनहुँ ३ बाट निर्वाचित उनी वनमन्त्री बनेका थिए । उनै गुरुङ तनहूँ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट निर्वाचित भएर हाल प्रदेश ४ को आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा नियुक्त भएका हुन् ।
विकास लम्साल
पर्वतको प्रदेशसभा (ख) बाट निर्वाचित सांसद विकास लम्सालको जन्म २०२६ सालमा साविक खानीगाउँ गाविसमा भएको हो । त्रिभुवन बिश्वबिद्यालयबाट ब्यवस्थापन संकायमा स्नातकोत्तर गरेका लम्साल २०३८ सालमा भवानी बिद्यापीठ मावि, खानीगाउँमा अनेरास्ववियुको सदस्य भएर राजनितीमा छिरेका हुन् । उनी पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै एमाले पर्वतको जिल्ला अध्यक्ष सम्म बने । लम्साल २०७० को संविधानसभा चुनावमा पर्वतबाटै निर्वाचित भएका थिए । शैक्षिक शुल्क बृद्धिको बिरोधमा आन्दोलन गर्दा २०४१ सालमा उनी १७ दिन हिरासत बसे भने २ बर्षसम्म धवलागिरी अञ्चलाधिशबाट राजकाजको मुद्धामा सजाएँ भोगे ।
२०४४ सालमा पर्वत बहुमुखी क्याम्पस फलेवासमा अनेरास्वबियु प्रारम्भिक कमिटीको सदस्य लम्साल २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युबा संघको जिल्ला कमिटी कोषाध्यक्षमा भए । २०४७ सालमा तत्कालिन नेकपा माले, खानीगाउँ सदस्य, ०४९ सालमा पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखराको स्वबियु सदस्य, २०५३ सालमा एमाले पर्वतको सदस्य, ०५७ मा सचिवालय सदस्य हुँदै २०६० मा उपसचिव बनेका थिए । २०६१ मा उनी ३ महिना हिरासत बसे । २०६३ मा पर्वत एमालेको सचिव र २०६६ सालमा अध्यक्ष बनेका हुन् । उनी २०५४ को स्थानीय चुनावमा खानीगाउँ गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
नरदेवी पुन
२०२५ सालमा म्याग्दी जिल्लाको मंगला गाउँपालिका १ भर्जुलामा जन्मिएकी नरदेवी पुन सानै उमेरदेखि राजनीतिमा प्रबेश गरेकी हुन् । २०४१ सालदेखि नै राजनीतिमा छिरेकी उनी सुरुमै मंगला माविको अनेरास्ववियु (प्राक) बनिन् । २०४२ मा अनेमसंघको टोल तयारी समिति अध्यक्ष बनेकी उनी २०४३ मा युथ लिगमा प्रबेश गरिन् । २०४५ देखि क्रान्तिकारी बुद्धिजीवि संघमा आवद्ध भएर काम गरेकी पुन सोही बेला गाउँ पार्टीको सक्रिय सदस्य बनिन् । २०४६ मा ईलाका हुँदै २०४७ मा मालेको संगठित सदस्य भईन् । त्यसपछि अनेमसंघ जिल्ला कमिटी म्याग्दीको सचिव, अध्यक्ष भएर लामो समय काम गरिन् । २०४८ सालमै उनी एमालेको जिल्ला कमिटि सदस्य बनिसकेकी थिईन् । पुन २०५६ को चुनावमा म्याग्दीबाट एमाले उम्मेदवार बनेपनि पराजीत भईन् । २०६४ मा पनि पराजीत उनी २०७० सालमा समानुपाति सांसद बनेकी हुन् ।
तत्कालीन केपी शर्मा ओलि नेतृत्वको सरकारमा नरदेवी पुन पशुपन्छी विकास राज्यमन्त्री बनेकी थिईन् । पुनसँग धेरै सामाजिक संघसंस्थामा काम गरेको अनुभव पनि छ । मंसिरमा सम्पन्न प्रदेशसभा चुनावमा म्याग्दी प्रदेशसभा (ख) बाट निर्वाचित उनी हाल प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी छिन् । उनले राजनीति शास्त्र र सामाजिक शास्त्रमा स्नातकोत्तरसम्मको पढाई सकेकी छिन् ।