प्रदेश ४ मा कुन पार्टी बलियो ? (मत समीकरण हेर्नुस्)

प्रकाश ढकाल
पोखरा, माघ ११ ।
प्रदेश ४ मा सबैभन्दा बलियो एमाले छ । एमाले एक्लैको ९७ मत हुँदा प्रतिश्पर्धामा रहेको काँग्रेससँग जम्मा ९६ मत छ । वाम गठबन्धनको अर्को शक्ति माओबादीको २४ मत जोडिँदा गठबन्धनसँग १ सय २१ मत हुन्छ । चौंथो शक्ति शक्ति राष्ट्रिय जनमोर्चासँग ६ मत छ भने नयाँशक्ति र राप्रपाको २÷२ मत छ । प्रमुखमा स्वतन्त्र चुनाव जितेका मुस्ताङको दालोमे (हाल लो घेकर दामोदर कुण्ड) गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट एमालेमा प्रवेश गरेका छन् भने मनाङको नारफू (हाल नार्पा भूमी) गाउँपालिकाका स्वतन्त्र उम्मेदवार काञ्जो तेन्जिङ लामा काँग्रेससँग नजिक छ । जिल्ला समन्वय समिति मनाङको चुनावमा पनि उनैले भोट हालिदिएका कारण काँग्रेसले चुनाव जितेको थियो । प्रदेशसभा तर्फ मनाङका सांसद दीपक मनाङे पनि एमालेको सहयोगले चुनाव जितेका कारण उनी एमाले निकट छन् । तर उनी मत हाल्न आउने कि नआउने अझैपनि निक्र्योल भैसकेको छैन । सपथका बेला उपस्थित नभएका कारण उनको नाम मतदाता नामावलीमा भएपनि निर्वाचनमा भाग लिने सम्भावना निकै कम भएको श्रोत बताउँछ । उनी सर्वोच्चले ज्यान मार्ने उद्योग मुद्धामा ५ बर्ष जेल सजाएँ सुनाएपछि फरार छन् ।
मतदाताका हिसावले काँग्रेस एमाले बराबर जस्तो देखिएपनि मतभारका आधारमा एमाले काँग्रेसभन्दा अघि छ । झन् माओवादी केन्द्रको मतभार मिसिँदा गठबन्धन निकै बलियो देखिन्छ । प्रदेश र प्रतिनिधीसभाको चुनावमा सहकार्य गरेको जनमोर्चाले भने यसपाली आफ्नै उम्मेदवार प्रश्तुत गरेको छ । यद्यपी गठबन्धन र जनमोर्चा बीच मत साटासाट गर्ने गोप्य सहमति भएको श्रोत बताउँछ । एकल संक्रमणीय निर्वाचन प्रणालीका कारण गठबन्धनले महिला र खुला उम्मेदवार १÷१ जना घटाएको छ । उता जनमोर्चाले चाहीँ गठबन्धनले नै छोडेको महिला र खुला पदमा मात्रै उम्मेदवार प्रश्तुत गरेका कारण सहमति भएको हुन सक्ने आँकलन पनि छ । यदी सहमति सही हो भने काँग्रेस ४ नम्बर प्रदेशबाट कुनैपनि पदमा बिजयी हुनेछैन । ‘गठबन्धन र जनमोर्चा बीच गोप्य सहमति भएको छ । सहमति अनुसार नै जनमोर्चाका उम्मेदवार प्रश्तुत भएका हुन्, श्रोत भन्छ–एकले अर्कालाई समीकरण मिलाएर भोट हाले भने काँग्रेसको जित्ने सम्भावना कम छ ।’ काँग्रेसले पनि गठबन्धनको समीकरण हेरेरै उम्मेदवार प्रश्तुत गरेको छ ।
प्रदेशमा निकै बलियो एमालेका मतदाताको मतभार हिसाव गर्दा २ हजार ५ सय ५६ हुन्छ भने काँग्रेससँग २ हजार १ सय ७८ मतभार छ । यसैगरी, माओवादी केन्द्रसँग ७ सय ९२, राष्ट्रिय जनमोर्चा १ सय ९८, नयाँशक्ति नेपाल ९६ र राप्रपाको ३६ मतभार छ । ३ भोट स्वतन्त्र रहेका मतदातासँग ८४ मतभार छ । प्रदेश सांसदको मतभार ४८ हुन्छ भने स्थानीय तहका अध्यक्ष र उपाध्यक्षसँग १८ मात्रै मतभार हुन्छ ।