प्रदेश ४ मा एमालेले मुख्यमन्त्री छान्दै (को को छन् दौडमा ?)

प्रकाश ढकाल
पोखरा, माघ २८ ।
सबै प्रदेशले लगभग मुख्यमन्त्रीको उम्मेदवार टुंग्याईसकेको छ । बहुमत प्राप्त दलबाट चुनिएका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीको रुपमा नियुक्त गर्नेछन् । घोषणा नभएपनि ६ वटा प्रदेशका मुख्यमन्त्री करिब टुंगिए । प्रदेश ४ मा आईतबार प्रमुख दावेदार बीच प्रतिश्पर्धा छ । एमाले नेता द्धय पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङबीच संसदीय दलको नेतामा प्रतिश्पर्धा हुने सम्भावना छ । बाम गठबन्धनले स्पष्ट बहुमत पाएका कारण एमालेको भागमा मुख्यमन्त्री परेको छ । आईतबार चुनिने एमाले संसदीय दलको नेता नै प्रदेश ४ को मुख्यमन्त्री हुने पक्कापक्की छ । एमाले र माओबादीको यो प्रदेशमा ३९ सीट छ । सरकार बनाउन ३१ सीट पर्याप्त हो । त्यसैले दुई पार्टीले भागबण्डा मिलाएर सरकार चलाउँदैछन् । मुख्यमन्त्रीका दुवै दावेदारले सहमतिमा नछोड्ने बुझिएको छ । अन्तिमसम्म सहमतिको प्रयास भएपनि रस्साकस्सी बलियो भएका कारण चुनाव हुने सम्भावना बढेको एमाले श्रोत बताउँछ । समाचार तयार गर्दासम्म एमालेको प्रभुत्व नेताहरु सहितको उपस्थितिमा सहमतिको प्रयास चलिरहेको छ । दुवै नेता आँफु सिनियर भएको बताउँदै अर्कोलाई नछोड्ने अडानमा छन् ।
दुई नेताको दावी परेपछि एमालेले आन्तरिक प्रतिश्पर्धाबाट संसदीय दलको नेता (मुख्यमन्त्री) टुंग्याउने बुझिएको छ । संसदीय दलको नेता छान्नकै लागि आईतबार विहान कास्की जिल्ला पार्टी कार्यालयमा प्रदेश सांसद र प्रदेश कमिटिको बैठक बस्दैछ । एमाले प्रदेश कमिटीका संयोजक समेत रहेका किरण गुरुङ पार्टीको नेतृत्व आँफुले सम्हालेका कारण आँफै मुख्यमन्त्री बन्ने दावी गर्छन् । उता केन्द्रिय कमिटिका सचिव पृथ्वीसुब्बा गुरुङ मर्यादाक्रममा आफुँ अगाडी भएको भन्दै मुख्यमन्त्री नछोड्ने अडानमा छन् । मुख्यमन्त्रीकै लागि उनी प्रतिनिधीसभा छोडेर प्रदेशमा चुनाव लडेका श्रोत बताउँछ । किरणले जनमत र पार्टीले पनि आँफुलाई चाहेका कारण मुख्यमन्त्रीमा दावी गरेको बताएका छन् । आँफु केपी ओली गुटकै भएको दावी गर्दै उनले आन्तरिक प्रतिश्पर्धा आफ्नै भागमा पर्ने बताए । ‘साथीहरुले किरण ओली गुटको होईन भनेर भ्रम छर्नु भएछ । वहाँहरुले मेरो बास्तविकता बुझ्नु भएन, उनी भन्छन्–म ओलीकै मान्छे हुँ । वहाँकै साथले आन्तरिक प्रतिश्पर्धा जितेर मुख्यमन्त्री बन्छु ।’ उनलाई बामदेव गौतम खेमाको रुपमा चिन्छन् । पृथ्वीसुब्बा गुरुङ चाहीँ ओलीका खाटी मान्छेको रुपमा चिनिन्छन् । उनले पार्टीमा आँफु सिनियर भएकाले आफ्नो दावी रहेको बताए । ‘प्रदेशको सांसद भएपछि क्षमता भएका मान्छे मन्त्री मुख्यमन्त्री ताक्नु ठूलो कुरा होईन, उनी भन्छन्–सकेसम्म सहमतिमा नत्र चुनावै लडेर भएपनि मुख्यमन्त्री छोड्दिन ।’
पार्टीभित्र चुनावको अवस्था आए पृथ्वीसुब्बाको पल्ला भारी भएको एमाले श्रोतको दावी छ । ‘सकेसम्म सहमतिमै संसदीय दलको नेता टुंग्याउनुपर्छ । चुनाव भए असहयोगको भावना सुरु हुन्छ, श्रोतले भन्यो–पार्टीभित्रको चुनावमा पिएस कामरेडको बहुमत छ ।’ महानता देखाएर एउटा नेतालाई संसदीय दलको नेता मान्न एमालेका एक सांसदले सुझाव दिए । ‘चुनाव गरेर निर्वाचित हुँदा सन्देस राम्रो जाँदैन । आँफुखुशी भोटको आँकलन गरेर चुनावमा होमिने तयारीमा दुवै नेताको मनसाय छ, ति सांसदले भने–लेखेर राख्नुस् गुटगत राजनीतिको चेपुवामा एउटाको नराम्रो हार हुन्छ । यसले पाँचै बर्षसम्म असहयोगको भावना देखिन सक्छ ।’ उनका अनुसार थोरै सांसदले मात्रै खुलेर किरण गुरुङलाई समर्थन गरेका छन् ।