प्रदेश ४ मा आलोपालो मुख्यमन्त्री (को पहिले ?)

पोखरा, माघ ८ ।
प्रदेश नम्बर ४ मा आलोपालो मुख्य मन्त्री बनाउने तयारी एमालेको छ । दुई ठूला नेताबीच भागबण्डा नमिलेपछि बर्ष भाग लगाएर मुख्य मन्त्री बनाउने योजना एमालेले बुनिरहेको छ । यहाँको मुख्यमन्त्रीमा एमाले नेता किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ दुबैको दाबी छ । किरण वामदेव गौतम निकट हुन् भने पृथ्वीसुब्बा केपी ओलीनिकट हुन् । यद्यपी किरणले आँफु पनि ओली पक्षकै भएको सार्वजनिक रुपमै प्रतिक्रिया दिएका छन् । किरण र पृथ्वीसुब्बा दुबै पूर्वमन्त्री भइसकेका सिनियर नेता हुन् । किरण पूर्ववनमन्त्री हुन् भने पृथ्वी पूर्वपर्यटन मन्त्री । वरिष्ठताको हिसाबले पृथ्वीसुब्बाभन्दा किरण पहिले नै पार्टीको केन्द्रीय सदस्य बनेका नेता हुन् । तर, हाल किरणभन्दा पृथ्वी सिनियर तहमा छन् । किरण गत महाधिवेशनमा उपाध्यक्षमा उठेर हारेका थिए भने पृथ्वीसुब्बा एमालेको सचिव पदमा बहाल छन् ।
दुवै नेताले आँफु कुनैपनि हालतमा मुख्य मन्त्री नछाड्ने प्रतिक्रिया दिएका छन् । सहमति हुन नसके पार्टीभित्रै चुनाव हुने एमालेका एक नेताले बताए । सकेसम्म सहमतिमा मुख्यमन्त्री बनाउने हो । भएन भने आन्तरिक प्रतिश्पर्धा हुन्छ, उनले भने–जसले जित्छ उही मुख्यमन्त्री ।’ दुवैलाई आधा–आधा समय सत्तामा पु¥याउने गरी केन्द्रिय तहमा लगभग सहमति भैसकेको तर कसले पहिले भन्ने बिषयमा छलफल चलिरहेको उनले बताए । पहिलो कार्यकाल वर्णानुक्रम अनुसार, पार्टीको पद अनुसार वा गोलप्रथा के आधारमा तय गर्ने भन्ने कुरा मिलाउन बाँकी रहेको एमाले स्रोतले बतायो ।
गुरुङ र मगर समुदायको बाहुल्य रहेको प्रदेश ४ को मुख्यमन्त्री गुरुङ समुदायबाटै बनाउने एमालेभित्र एकखाले तयारी थियो । सोही अनुसार उच्च नेताहरु नै प्रदेशमा चुनाव लडेका हुन् । चर्चामा आएका दुवै नेताले चुनाव जितेपछि अहिले उनीहरुलाई सम्बोधन गर्न समस्या भएको हो ।