प्रदेश ४ को सर्वदलीय बैठक (के भयो निर्णय ?)

प्रकाश ढकाल
पोखरा, माघ २० ।
प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक २२ गते डाकिएको छ । त्यसका लागि शनिबार दलहरुले तयारी बैठक गरे । प्रदेशसभामा प्रतिनिधीत्व गर्ने सबै दलका प्रतिनिधीको छलफलले सोमबार हुने प्रदेशसभा बैठकको समय र दलको उपस्थितीबारे निर्णय गरेको छ । सोमबारको बैठक सवा घण्टा चल्नेछ । बैठकले प्रदेशसभा सञ्चालन कार्यविधी २०७४ पारित गर्ने निर्णय समेत गरेको प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार बैठकमा ३ ठूला दलका ३÷३ जना र साना २ दलबाट १÷१ जना गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाईएको छ ।
सभा सञ्चालनका लागि सबै दलको उपस्थितीमा कार्यब्यवस्थापन समिति गठन गर्ने र सोही समितिले सभाको अध्यक्षताबारे टुंगो लगाउने निर्णय भएको छ । पर्सिको बैठकका लागि आईतबार भोलि रियलसल पनि गर्ने तयारी छ । शनिबारको बैठकमा प्रदेशसभाका जेष्ठ सदस्य सहित ९ जना सांसद उपस्थित थिए । बैठकमा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ थिए भने काँग्रेसबाट कृष्णचन्द्र नेपाली र विन्दुकुमार थापा उपस्थित भएका छन् । उता माओबादीले हरि चुमान र नेत्रनाथ अधिकारी, जनमोर्चाले कृष्ण थापा र नयाँ शक्ति पार्टी नेपालबाट हरिशरण आचार्य सहभागी थिए ।