प्रदेश ४ को बजेट २४ अर्व (मुख्य बुँदा सहित)

पोखरा, असार १ ।
प्रदेश ४ ले आगामी बर्षका लागि कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । शुक्रबार अर्थमन्त्री किरण गुरुले संसदमा बजेट प्रश्तुत गरे । सरकारले आगामी बर्षका लागि २४ अर्व २ करोड ३३ लाख रुपैयाँको बजेट प्रश्तुत गरिएको हो ।

जसमध्ये चालूतर्फ ६ अर्व ९१ करोड र पूँजीगततर्फ १५ अर्व ९० करोड तथा वित्तीय हस्तान्तरणका लागि १ अर्व २० करोड रुपैयाँ छ । प्रतिशतका आधारमा चालूखर्च पूरा बजेटको २९ प्रतिशत छ भने पूँजीगत ६६ प्रतिशत र वित्तीय हस्तान्तरणमा ५ प्रतिशत छ ।

सरकारले भौतिक पूर्वाधारलाई जोड दिएर बजेट ल्याएको छ । त्यसमा पनि सडक सञ्जालमा सरकारको ध्यान केन्द्रित छ । प्रदेश गौरवका आयोजनाको रुपमा कोरला–पोखरा र पोखरा–सुस्ता सडकको डिपिआर तयार गरी स्तरोन्नती थाल्न बजेट विनियोजन भएको छ । यस्तै देवघाटदेखि पुट्टार हुँदै केलादीघाट–चापाकोट–राम्दी–सेतिवेणीबाट बेनी जोड्ने सडकका लागि डिपिआर तयार गनृ २ करोड रुपैयाँ छ ।

हरेक स्थानीय तहलाई प्रदेश राजधानी जोड्ने सडक स्तरोन्नती गर्न २ अर्व ६ करोड, एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रमका लागि हरेक निर्वाचन क्षेत्रमा २ करोड १० लाखका दरले ७५ करोड ६० लाख, सडक सञ्जालमा नजोडिएका क्षेत्रलाई सडकमा जोड्ने पुल निर्माणका लागि ५१ करोड ८५ लाख रुपैयाँ बजेट छ ।

यस्तै अन्तराष्ट्रिय सम्मेलन केन्द्रको अध्ययन गर्न र निर्माण थाल्न १ करोड, फेवाताल संरक्षण र विकासका लागि ८ करोड, ३० गाउँपालिका केन्द्रमा सभाकक्ष निर्माण गर्न १० करोड ५० लाख, विद्युतिकरण गर्न ३८ करोड, काठेपोल विस्थापन गरी फलामे पोल राख्नका लागि ५ करोड, प्रदेशको पर्यटन क्षेत्रको गुरुयोजना बनाउन १ करोड रुपैयाँ छ । यस्तै लगानी सम्मेलन आयोजन गर्न १ करोड, मुस्ताङ, मनाङ र चुमनुव्रीमा फिल्म सुटिङ स्पट बनाउन १ करोड ५० लाख, मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ स्थापना गर्न १० करोड ८० लाख, एक स्थानीय तह एक शीतभण्डार निर्माण गर्न एकमुष्ट २६ करोड ५० लाख विनियोजन गरिएको छ ।

एक स्थानीय तह एक औद्योगिक क्षेत्र स्थापनामा १२ करोड, पोखरा औद्योगिक क्षेत्रको विकास गर्न २ करोड, लघु उद्यम विकास कार्यक्रममा ३ करोड विनियोजन छ । प्रदेशको विश्वविद्यालय स्थापना गर्न १ करोड, राजमार्गमा मोवाईल अस्पताल निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।