प्रदेश ४ को प्रदेशसभा बैठक माघ २२ मा (के हुन्छ बैठकमा ?)

पोखरा, माघ १३ ।
प्रदेश नं ४ मा प्रदेशसभाको बैठक यही माघ २२ गते पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्र (प्रश्तावित प्रदेशसभा) को सभाकक्षमा बस्दैछ । संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ । प्रदेश नं ४ को बैठक बिहान ११ बजे बस्ने प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिए । प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले प्रदेश प्रमुखले दलहरूबीच छलफल गरी बैठकको मिति तय भएको जानकारी दिँदै आइतबार बैठकको औपचारिक सूचना जारी गरिने बताए ।
नेपालमा नयाँ अभ्यासका रुपमा रहेको प्रदेशसभाका सम्बन्धमा संविधानको भाग १३, १४, १५ र १६ मा क्रमशः प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, प्रदेश व्यवस्थापन कार्यविधि र प्रदेश आर्थिक कार्यप्रणालीको व्यवस्थाका साथै अन्य धारा एवम् अनुसूचीमा प्रदेशसभासँग सम्बन्धित विषय उल्लेख गरिएको छ । संविधानको धारा १८४ उपधारा १ मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्ने उल्लेख छ । उक्त धाराकै उपधारा २ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने उल्लेख छ ।