प्रदेश ४ को पहिलो बैठक आज, सांसद छिरिसके कर्मचारी छैनन्

प्रकाश ढकाल
पोखरा, माघ २२ ।
सरकारले ४ नम्बर प्रदेशका लागि प्रदेशसभामा मात्रै २७ जना कर्मचारी खटाएको छ । बैठक तयारी र त्यसपछिका कामका लागि भनेर खटाईएका कर्मचारीहरु अझैपनि प्रदेशसभामा हाजिर गर्न आईपुगेका छैनन् । उनीहरुलाई सघाउन संसद सचिवालयबाट सहसचिवको नेतृत्वमा आएको ४ सदस्यीय टोलीले प्रदेशसभाको बैठक तयारी गरिरहेको छ । ‘अरु कर्मचारीलाई काम सिकाउन हामीलाई खटाईएको हो । प्रदेशसभाको बैठक आईसक्यो कर्मचारी अझै आईपुगेनन्, सहसचिव जीवराज बुढाथोकीले भने–मोटामोटी काम त सकियो तर फाईनल दिन सकिरहेका छैनौं । कर्मचारी अभावले कामको बाँडफाँडमा समस्या भैरहेको छ ।’ आईतबारसम्म १२ जना कर्मचारीले मात्रै हाजिरी गरेका छन् । बाँकी कर्मचारी सम्पर्क मै नरहेका बुढाथोकीले जानकारी दिए । यसबारे सम्बन्धित निकायले कडाई नगरेको उनको गुनासो छ ।
प्रदेश प्रमुख बाबुराम कुवँरको आह्वानमा सोमबार प्रदेश ४ को पहिलो संसदीय बैठक बस्दैछ । विभिन्न चरणको तयारी पछि आईतबार बैठकका लागि सांसदहरुले रियलसल पनि गरे । यसअघि शनिबार सर्वदलीय छलफल समेत भएको थियो । बैठकमा ११ सांसदले बक्तब्य दिनेछन् । एमालेबाट पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सिर्जना शर्माले बोल्ने तय भएको छ । नेपाली काँग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली, दोवाटे विश्वकर्मा र ललितकला गुरुङले बोल्नेछन् । नेकपा माओबादी केन्द्रबाट हरिबहादुर चुमान, नेत्रनाथ अधिकारी र गायत्री गुरुङले तथा जनमोर्चाबाट कृष्ण थापाले भनाई राख्नेछन् । आईतबार बसेको जनमोर्चाको बैठकबाट उनी संसदीय दलको नेतामा समेत चयन भएका छन् । उता नयाँ शक्तिबाट हरिशरण आचार्यले पहिलो बैठकमा आफ्ना भनाई राख्नेछन् । सचिवालयबाटै एक महिला सांसद सहित एमाले, काँग्रेस र माओबादीबाट ३÷३ जना तथा जनमोर्चा र नयाँ शक्तिबाट १÷१ जना मागिएको थियो । सोही अनुसार नाम सिफारिस गरिएको दलहरुले बताएका छन् । सबै दलका लागि बढीमा १ घण्टाको बोल्ने समय निर्धारण भएको छ । ‘प्रदेशसभा नै सवा घण्टामा सकिन्छ । माननीय ज्यूहरुले एक घण्टामा भनाई राखिसक्ने सहमति जुटेको छ, प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्यालले भने–सोमबारको बैठक भब्य रुपमा सम्पन्न हुन्छ । हामी पूर्ण रुपमा तयार भैसक्यौं ।’
बैठकमा सभामुखको अनुपस्थितीमा कुर्ची खाली नगर्न सबै दलको सहमतिले कार्य ब्यवस्थापन समिति गठन गरेको छ । समितिमा पाँचवटै दलबाट १÷१ जना छन् । दलहरुकै सिफारिसका आधारमा समिति गठन भएको प्रदेश सचिवालयको भनाई छ । समितिका लागि पनि सबै दलले आफ्ना प्रतिनिधीको नाम टुंग्याएका छन् । एमालेबाट मित्रकुमारी गुरुङ सुवेदी, काँग्रेसबाट मनकुमारी गुरुङ, माओबादीबाट गायत्री गुरुङ, जनमोर्चाका टेकबहादुर घर्ती र नयाँ शक्तिबाट धनमाया पोखरेल लामा समितिमा बस्नेछन् ।