प्रदेश ४ को नाम ‘गोरखा’ राख्न सुझाव

गोरखा, बैशाख ९ ।
प्रदेश ४ को नाम गोरखा राख्न गोरखाबासीले सुझाव पठाएका छन् । प्रदेशको नामाकरण र राजधानी तोक्ने बिषयमा सुझाव संकलनका लागि जिल्ला भ्रमणमा रहेका सांसदहरुलाई गोरखाबासीले प्रदेशको नाम गोरखा राख्न सुझाव दिएका हुन् ।
देशको पुरानो राजधानीको पहिचान कायम राख्न गोरखा प्रदेश राख्नुपर्ने उनीहरुको भनाइ छ । कार्यक्रमका सहभागीले सुझाव संकलनको औपचारिकता पूरा गर्नमात्र खोजिएको भन्दै सांसदहरुसँग आक्रोश पोखेका छन् । ‘भित्रभित्रै पहिले नै नामाकरणको टुङ्गो लगाइसक्ने अनि अहिले श्राद्ध गरेजस्तो गरेर सुझाव संकलन गर्न आउने,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने ।

सुझाव संकलन गोर्खाली जनताको आँखामा छारो हाल्ने काम मात्र भएको उनले बताए । प्रदेश ४ को नाम गोरखा प्रदेश राख्न पनि उनले सुझाव दिएका छन् । ‘गोरखाका सांसद भएकाले गोरखाबाहेक अन्य नाम राख्न तपाईंहरुलाई नैैतिकताले दिदैन,’ सुझाव संकलन गर्न आएका गोरखाका सांसदहरुलाई पन्तले भने ।

कानुन व्यवसायी स्थानेश्वर दुवाडीले सुझाव संकलन कर्मकाण्डी मात्रै भएको बताए । ‘औपचारिकता लागि मात्र यो कार्यक्रम भएको हो, हामीले सुझाव दिए पनि नदिए पनि केही हुने वाला छैन,’ उनले भने । उनले सम्भव भएसम्म प्रदशको नाम गोरखा राख्न सुझाव दिए । ‘नेपाल एकीकरणको थलो र वीर गोर्खालीले विश्व सामु नेपालीलाई चिनाएको परिचय कसरी भुल्न सकिन्छ,’ उनले भने ।

नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले नेपालको पुरानो राजधानी गोरखा भएकाले त्यसको पहिचान कायम राख्न प्रदेशको राजधानीसमेत गोरखामै राख्न उचित हुने बताए । सुझाव संकलनका लागि आएका प्रदेश सांसद हरिशरण आचार्य र सरिता गुरुङले प्रश्नावलीमार्फत पनि जिल्लावासीको सुझाव संकलन गरेका छन् ।

कार्यक्रममा जिल्लाका सरोकारवाला ब्यक्तिहरुको उपस्थिति थियो । सांसद आचार्यले आइतबार प्रदेश ४ का ५ वटा जिल्लामा सु्झाव संकलन भइरहेको जानकारी दिँदै जिल्लाहरुबाट आएको सुझावको आधारमा प्रदेशको नाम र राजधानी टुंगो लगाइने बताए ।