प्रदेश ४ को नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’

पोखरा, जेठ २१ ।
प्रदेश ४ को नाम गण्डकी हुने पक्कापक्की जस्तै छ । प्रदेशको स्थायी राजधानी र नामाकंनका लागि सिफारिस गर्न गठित समितिले गण्डकी नाम उपयुक्त भनि प्रतिबेदन बुझाएको छ । समितिको प्रतिबेदनमा पहिलो नाम गण्डकी छ भने दोश्रो नाम तमुवान–मगरात छ । यस्तै तेश्रोमा गोरखा र चौंथोमा धवलागिरी नाम सिफारिस भएको छ । पहिलो र दोश्रो प्रश्तावमा मतान्तर निकै धेरै भएकोले गण्डकी नाम रहने लगभग टुंगिएको हो ।

‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन् । यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो । प्रदेश नम्बर ४ का कुल ६० (निर्वाचनको बेला) जना प्रदेशसभा सदस्य मध्ये ७५ प्रतिशत सदस्यहरुले गण्डकी प्रदेश नाम राख्नुपर्ने सुझाव दिएका हुन् । एकीकरण अघिको एमाले र दुईवटा प्रतिपक्षी दल नेपाली कांग्रेस तथा राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्यहरुले ‘गण्डकी प्रदेश’ नाम राख्न सहमति जनाएका हुन् । सत्ताघटक अर्को दल साविकको माओवादी केन्द्रले भने लिखित सुझाव बुझाएन । नयाँ शक्ति पार्टी नेपालले भने ‘गण्डकी तमुवान’, ‘गण्डकी’ र ‘अन्नपूर्ण’ मध्ये कुनै नाम राख्नुपर्ने सुझाव दिएको थियो ।

यस्तै, प्रदेशको राजधानी पोखरा राख्न माओवादी केन्द्रबाहेकका सबै दलले सहमति सहितको सुझाव दिएका छन् । सोमबारको प्रदेशसभा बैठकमा समितिका ज्येष्ठ सभापति विन्दु कुमार थापाले संख्यात्मक प्राथमिकताको आधारमा क्रमशः गण्डकी, तमुवान मगरात, गोरखा र धौलागिरीलाई प्रदेश नाम राख्न सकिने सुझाव सहितको प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरे । प्रदेशको नाम र स्थायी राजधानी तोक्ने विषयमा गत चैत १२ गतेको प्रदेशसभा बैठकले विशेष समिति गठन गरेको थियो ।