प्रदेश ४ को नाम ‘गण्डकी’ राख्ने नेकपाको निर्णय

पोखरा, असार २० ।
प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने लगभग पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले गण्डकी नाम राख्न सहमति जुटाएको हो ।
निकै लामो छलफल र बहसपछि नेकपाका सांसदहरु बीच गण्डकी नाम राख्ने बिषयमा सहमति जुटेको हो । विशेषगरी माओवादी तर्फका सांसदहरु पहिचान सहितको नाम हुनुपर्ने भन्दै गण्डकी तमुवान राख्ने पक्षमा देखिएका थिए । केही एमालेका सांसदहरुले पनि त्यसलाई समर्थन गरेका थिए ।
तर धेरैको धारणा जातिय नाम भन्दा साझा नामको पक्षमा भएकोले छलफल लम्बिएको हो । केन्द्रिय तहका नेताहरुले पनि जाति नाम नराख्न आग्रह गरेपछि र बहुमत सांसदले गण्डकीको पक्ष लिएपछि प्रदेशको नामाकरण गण्डकी हुन लागेको नेकपाका एक सांसदले भने ।
‘जातिय नाम राखेर पहिचान स्थापित हुन सक्दैन । तमुवान वा मगरात भन्ने प्रदेश ४ भित्रमात्रै खुम्चिने बिषय होईन । अन्तराष्ट्रिय रुपमा तमु र मगरको पहिचान छ, ति सांसदले भने–नाम नराख्दैमा अधिकार खोसिने भन्ने हुँदैन । अव अधिकार प्राप्तीको लागि पहल गर्ने हो ।’
अर्थमन्त्री किरण गुरुङले समेत गुरुङहरुको पहिचान गण्डकीमा रहेकोले गण्डकी प्रदेश उपयुक्त हुने अभिब्यक्ति दिएपछि केही दिन पोखरामा नामको बिषयले निकै धेरै चर्चा पाएको थियो । नेकपाभित्रकै केही सांसदले हिमालयन प्रदेश पनि अघि सारेका थिए । नेकपा बाहेक काँग्रेस र जनमोर्चाले गण्डकी नाम राख्न पार्टीगत रुपमा निर्णय गराएर बुझाईसकेका छन् भने नयाँ शक्तिले चाहीँ गण्डकी–तमुवान राख्न प्राथमिकताका साथ सिफारिस गरेको छ ।