प्रदेश ४ को नाम ‘गण्डकी’ नै राख्न खस आर्य समुदायको माग

पोखरा, जेठ २४ ।
खस आर्य समुदायले प्रदेश ४ को नाम ‘गण्डकी’ नै राख्न माग गरेको छ । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी प्रदेश ४ ले सर्वसम्मत रुपमा सिफारिस गरेको ‘गण्डकी’ नै राख्न माग गरेको हो । यसअघि तमुवान–मगरात नाम राख्न जातिय समुदायले प्रर्दशन सहित दवाव दिएपछि खस आर्य समूहले पनि जातिय नाम राख्न नहुने भनि सुझाव दिएको छ । समूहले प्रदेशको नाम ‘गण्डकी’ राख्न सिफारिस भएपनि अझैपनि बेइमानी र छलकपट हुनसक्ने भन्दै खबरदारी गरिरहने बताएको छ । खबरदारी अन्तर्गत यहि जेठ २७ गते शान्तिपूर्ण जनर्याली निकाल्ने बताईएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्री समाज नेपालका संस्थापक अध्यक्ष डा.दिलबहादुर क्षेत्रीले कुनै अमुक पार्टीले जातीय पहिचान झल्कने नाममा लविङ गर्न सांसदहरुलाई निर्देशन दिएकाले आफूहरु झस्किएको बताए । उनले दलको हृविप र आदेशका भरमा प्रदेशको नाम ‘गण्डकी’ नराखेर जातीय पहिचान झल्कने नाम राखिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

प्रदेशका बहुमत सांसदहरु र प्रदेशवासीले पनि गण्डकी नाम राख्न सुझाव पठाएपछि विन्दुकुमार थापाकाो संयोजकत्वमा गठित समितिले पहिलो नम्बरमा गण्डकी नाम राख्न सिफारिस गरेको थियो । समितिले सिफारिस गरेको दोश्रो नाम तमुवान–मगरात, तेश्रोमा गोरखा र चौथोमा धवलागिरि छ । तर, अन्य प्रस्तावित नाम भन्दा ‘गण्डकी’ प्रदेशको नाममा मतान्तर धेरै भएकाले ‘गण्डकी’ प्रदेश नै नाम रहने लगभग पक्काजस्तै देखिन्छ ।