प्रदेश ४ को आर्थिक कार्यविधि पारित
पोखरा, चैत ७ ।
प्रदेश ४ को आर्थिक कार्यविधि संसदबाट पारित भएको छ । लामो समयको छलफल र सम्बादपछि मंगलबारको संसद बैठकले कार्यविधि पारित गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले कार्यविधि प्रश्ताव गरेपछि सर्व सहमतिबाट पारित भएको हो । गएको फागुन २७ गते कार्यविधि बनाउन ढिलो हुने भन्दै नियम नै निलम्बन गरेर संसदमा प्रश्ताव गरिएको थियो । त्यसपछि तत्कालै विधायन समिति गठन गरि दफावार छलफलका लागि समितिलाई जिम्मा लगाईएको थियो । समितिले लामो समय छलफल र अध्ययन गरेपछि संसदमा पठाएको हो । सोमबारको बैठकमा विधायन समितिका जेष्ठ सदस्य मोहन रेग्मीले कार्यविधि माथी दफावार छलफल भैसकेकाले पारित गर्न प्रश्ताव गरे । तर आन्तरिक तयारीको कारण देखाउँदै ५ मिनेटमै बैठक स्थगित भयो । मंगलबार पनि ढिलो गरी बैठक बसेर कार्यविधि पारित गरिएको हो । आर्थिक कार्यविधि पारित भएपछि प्रदेशका सबै आर्थिक क्रियाकलाप सञ्चालन गर्न सहज हुने सरकारको विश्वास छ ।
‘सरकार गठन भएको १ महिनासम्म आर्थिक काम अगाडी बढेको छैन । बजेट ल्याउने समय आईसक्यो तर कानुन नहुँदा अन्यौल छ, सरकारका प्रबक्ता रामशरण बस्नेत भन्छन्–अव कानुन पायौं । जतिसक्दो छिटो नीति कार्यक्रम सहितको बजेट सार्वजनिक गर्छौं ।’ फाष्ट ट्रयाकबाट काम गर्नका लागि नियम नै निलम्बन गरेर विधेयक पेश गरिएको उनले बताए । कार्यविधि पारित भएपछि प्रदेश संचीत कोष तथा सरकारी कोषको सञ्चालन, बजेट तर्जुमा, निकासा तथा खर्च गर्ने, लेखा राख्ने प्रतिवेदन गर्ने, लेखापरीक्षण, पेश्की असुल उपर गर्न तथा नियमित गर्ने बाटो खुल्छ । सरकारले चैत दोश्रो सातासम्ममा प्रदेशको बजेट ल्याउने तयारी पनि गरिरहेको छ । यसका लागि बिषयगत समितिसँग छलफल सुरु भैसकेको प्रदेशका अर्थ सचिव बिष्णुराज ढकालले जानकारी दिए । उनका अनुसार केन्द्र सरकारले पठाएको १ अर्व २ करोडलाई आधार मानेर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ । सरकारले चालु बर्षको ४ महिनाका लागि बजेट ल्याउन लागेको हो ।