प्रदेश ४ का सांसदले भने–‘संघीताको भारी बोक्न सकिन्न’

पोखरा, जेठ १७ ।
प्रदेश ४ का सांसद कृष्ण थापाले संघीयता बोझिलो भएको बताएका छन् । संसदलाई सम्बोधन गर्दै जनमोर्चाको तर्फबाट चुनाव जितेका उनले संघीयता नेपालमा आवश्यक नभएको भन्दै यसको पछि नलाग्न सरकार र अन्य सांसदसँग आग्रह पनि गरे । ‘संघीयताको यति महंगो भारी बोकेर पार लगाउन सकिन्छ ? पार लगाउन नसक्ने भए अहिले नै छोडौं, उनले भने–हामी यो भारी पार लगाउन सक्दैनौं भनिरहेका छौं । तपाईंहरु पार लगाउने बाचा गर्नुहुन्छ । मैले चाहीँ धेरै कठिन देखेको छु ।’

उनले नेपाल जस्तो सानो मुलुकमा संघीयता भारपूर्ण हुने स्पष्ट पारे । संसदसभामा पहिलो बैठकमा पनि उनले संघीयताको विरोध गरेका थिए । यस्तै नयाँ शक्तिका हरिशरण आचार्यले सरकारकै कारण संघीयता धरापमा पर्न लागेको बताए । राजनीतिक हिसावले सरकार अघि भएपनि काममा लगनशिल नभएको उनको आरोप छ । केन्द्र सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी छ । संघीयतालाई नै धरापमा पार्ने गरी बजेट ल्याईयो, उनले भने–सरकारको आचरणले संघीयता विरोधीलाई प्रश्रय पुगिरहेको छ । ध्यान जाओस् ।’ अरु सांसदहरुले चाहीँ संघीयताबाट भाग्न नसकिने भन्दै राम्रो बनाउने काममा ध्यान दिनुपर्ने बताए ।