प्रदेश ४ का प्रमुख सचिव अर्यालको सरुवा, नयाँ प्रमुख सचिवमा विडारी

पोखरा, असार ७ ।
प्रदेश नम्बर ४ का प्रमुख सचिव लक्ष्मण अर्यालको सरुवा भएको छ । करिब १ बर्षको पोखरा बसाईपछि उनलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको हो ।

अर्यालको बुधबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । देश संघीय संरचनामा गएपछि उनले क्षेत्रीय प्रशासकबाट प्रमुख सचिवको रुपमा करिब ६ महिना काम गरे ।

सरकारले क्षेत्रीय प्रशासकहरूलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रूपमा खटाउने निर्णय गरेपछि उनी प्रदेश ४ को पहिलो प्रमुख सचिवमा नियुक्त भएका थिए । अर्याल योजना छनौट र दीगो विकास कार्ययोजना बनाउन पोख्त छन् ।

उनकै कार्यकालमा प्रदेश ४ मा दुईवटा नीति तथा कार्यक्रम र २ वटा बजेट आईसकेको छ । नीति तथा कार्यक्रम र बजेट बनाउने बेलामा पनि उनी सक्रिय सहभागी थिए ।

अर्याललाई मन्त्रालयका सचिवहरु सहित अन्य कर्मचारीहरु, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, काँग्रेस नेतृ सरस्वती गुरुङ, गिमाया गुरुङ, संस्कृतिकर्मी कृष्णकुमार गुरुङ, सहित पोखराका अन्य समाजसेवीहरुले पनि विदाई गरेका थिए ।

उनी अघिल्लो बर्षको स्थानीय चुनाव सकिएपछि साउन २५ गते क्षेत्रीय प्रशासकका रुपमा पोखरा खटिएका थिए । अर्याललको सरुवा भएपछि उनको ठाउँमा नारायणप्रसाद विडारी आएका छन् । विडारीलाई पनि बुधबार नै स्वागत गरिएको थियो ।