प्रदेश ४ः सभामुखको आदेशमा शनिबार सर्वदलीय बैठक (कोको बस्छन् बैठकमा ?)

प्रकाश ढकाल
पोखरा, माघ १९ ।
प्रदेश नम्बर ४ को प्रदेशसभा सञ्चालनको तयारी तिब्र छ । सभा सञ्चालनका जानकार पोखरा आएसँगै तयारीका काम भैरहेका छन् । सरकारले प्रदेशसभा चलाउनका लागि मंगलबार ४ जना कर्मचारी काठमाण्डौंबाटै पठाएको छ । प्रदेशसभामा काम गर्ने कर्मचारीलाई सभा सञ्चालको विधी सिकाउन उनीहरु बढीमा महिनादिन पोखरा बस्छन् । यतिबेला सभाहलको ब्यवस्थापन र आवश्यक कागजी काम लगभग अन्तिम चरणमा पुगिसकेको सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए । ‘सभाहलको मर्मत लगभग सकियो । केही कागजपत्र छपाईका लागि पठाईसक्यौं, उनले भने–अब सर्वदलिय बैठक बसेर २२ गतेको कार्यक्रम खाका बनाउँछौं ।’ प्रदेशका जेष्ठ सांसद जनकलाल श्रेष्ठसँग आदेश लिएर सबै दललाई बैठकका लागि खवर पठाईसकेको उनले बताए । सरकारले नयाँ सभामुख निर्वाचित नहुँदासम्मको सबै काम प्रदेशका जेष्ठ सांसदबाट गराउने निर्देशन पठाएको थियो । सोही अनुसार उनी हाल सभामुखको भूमिकामा छन् । ‘सभामुख ज्यूसँग आज (शुक्रबार भेट्ने कुरा भएको थियो । तर वहाँ काम विशेषले आउन पाउनुभएन, उनी भन्छन्–वहाँसँग फोनबाटै आदेश लिएर बैठक राख्ने निर्णय गरेका हौं । वहाँ पनि भोलि (शनिबार) को बैठकमा सहभागी हुनुहुन्छ ।’ सर्वदलिय बैठकमा ठूला तीनदलबाट २/२ जना र बाँकी २ वटा दलका १/१ सांसद सहभागी हुनेछन् ।
बैठकमा एमालेले मुख्यमन्त्रीका दावेदार पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङलाई पठाउने तयारी गरेको छ । पृथ्वी लमजुङको प्रदेशसभा (ख) बाट बिजयी भएका हुन् भने किरण तनहूँ २ (ख) बाट बिजयी सांसद हुन् । उता काँग्रेसले नवलपुरका दुई सांसदलाई बैठकमा सहभागी हुन म्यासेज पठाएको छ । नवलपुर १ (क) का कृष्णचन्द्र नेपाली र २ (क) का निर्वाचित सांसद विष्णु लामिछाने बैठकमा जानेछन् । माओबादी केन्द्रबाट तनहुँ क्षेत्र नम्बर १ (ख) का सांसद हरिबहादुर चुमान र पर्वतको प्रदेशसभा (क) का सांसद नेत्र अधिकारी सहभागी हुँदैछन् । बैठकमा १ प्रतिनिधी पाएको नयाँ शक्तिले गोरखा २ (क) का निर्वाचित सांसद हरिशरण आचार्य र राष्ट्रिय जनमोर्चाले बागलुङ २ (ख) टेकबहादुर घर्तीलाई पठाउने तयारी गरेको छ ।
बैठकमा सहभागी हुने नेता नै सम्भवतः संसदीय दलको नेता हुने भएकाले पनि यसलाई महत्वका साथ हेरिन्छ । ‘बैठकमा सहभागी हुने नेता प्रदेश सांसदहरुको पनि लिडर जस्तै हो । वहाँहरुले बैठकमा गरेका निर्णय सबैलाई मान्य हुने खालको हुनुपर्छ, श्रोत भन्छ–बैठकको सहभागी नेता संसदीय दलको नेता बनाउने गरी नै दलहरुले छानेर पठाएका हुन्छन् ।’ बैठक शनिबार ३ बजे प्रदेशसभा भवन नदीपुरमा बस्ने कार्यक्रम तय भएको छ । शनिबारको बैठकपछि प्रदेशसभाको पुर्व सन्ध्यामा आईतबार सांसदहरुले रियल्सल पनि गर्नेछन् । सोमबार विहान ११ बजेका लागि प्रदेश प्रमुखले ४ नम्बर प्रदेशको ऐतिहासिक पहिलो प्रदेशसभा बैठक डाकेका छन् । सांसदको शपथपछि काठमाण्डौं गएका प्रदेश प्रमुख पनि बैठकका लागि शनिबार पोखरा आउने बुझिएको छ ।