प्रदेश प्रमुख आए, भित्रिने ठाउँ छैन

प्रकाश ढकाल
पोखरा, माघ ६ ।
सरकारले सातवटै प्रदेशका प्रमुखहरु नियुक्त गरिसकेको छ । उनीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहणसँगै प्रदेश प्रमुखहरुलाई जिम्मेवारी अनुसारको काम थाल्ने बाटो खुलेको छ । ४ नम्बर प्रदेश प्रमुख बाबुराम कुवँर आईतबार कार्यालयमा हाजिर हुने योजनामा छन् । तर पोखरामा उनलाई भित्र्याउने कार्यालय अझै तयार भैसकेको छैन । प्रदेशको संरचना सिफारिस समितिले एउटा खाका बनाएर महिनादिन अघि नै सरकारलाई प्रतिबेदन बुझाएपनि त्यसको कार्यान्वयन हालसम्म भएको छैन । ४ नम्बर प्रदेशका लागि क्षेत्रीय प्रशासन कार्यालय र अध्यागमन कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय हुन सक्ने भनि सिफारिस पठाएको थियो । सिफारिसका बारेमा केन्द्रबाट कुनैपनि निर्देशन नआएकाले सम्भवतः अध्यागमन र क्षेत्रीय प्रशासन कार्यालयमा नै प्रदेश प्रमुखको कार्यालय रहनेछ । यद्यपी अहिलेसम्म त्यहाँका पूराना कागजपत्र पनि सारिएको छैन । शनिवार दिनभरिमा कार्यालयको ब्यवस्थापन भैसक्ने क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । हतारमा आपतकालीन ब्यवस्थापन मात्रै मिलाउन लागिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
‘सरकारको डिसिजन ढिलाईको कारण निकै हतारमा काम गर्नुपर्ने बाध्यता आयो । हामीले धेरै पहिले सिफारिस पठाएपनि केन्द्रबाट रेस्पोन्स आएन, उनले भने–अहिलेलाई सामान्य ब्यवस्थापन मिलाएर प्रमुख ज्यूलाई बस्ने वातावरण बनाउछौं । विस्तारै संरचना थप्दै जाउँला ।’ उनका अनुसार क्षेत्रीय प्रशासक बस्दै आएका निवास नै प्रदेश प्रमुखको निवास हुनेछ । यद्यपी तत्कालका लागि राष्ट्रबैंकको गेष्ट हाउसमा प्रदेश प्रमुखलाई बस्ने ब्यवस्था मिलाईएको अधिकारीले जानकारी दिए । ‘पछि क्षेत्रीय प्रशासक ज्यूको निवासमा नै प्रदेशप्रमुख बस्नुहुन्छ । अहिले तयारी नभएकाले वहाँलाई राष्ट्रबैंकको गेष्ट हाउसमा राख्ने योजना भएको छ, अधिकारी भन्छन्–क्षेत्रीय प्रशासक ज्यूको बैकल्पिक निवास खोजेपछि प्रदेशप्रमुखलाई सार्ने हो । हामी त्यसको विकल्प पनि खोज्दै छौं ।’ प्रदेशप्रमुख भित्रिनुअघि नै अध्यागमन कार्यालयका प्रमुख र कर्मचारीहरु त्यहाँबाट निस्किसक्नेछन् । सार्वजनिक रुपमा क्षेत्रीय प्रशासन कार्यालय सहितको अध्यागमन कार्यालय भनिएपनि आन्तरिक रुपमा अध्यागमन कार्यालय मात्रै प्रदेश प्रमुखलाई दिने तयारी बुझिएको छ । प्रदेशप्रमुखसँग स्वकीय सचिव सहित २५ जना कर्मचारी हुनेछन् ।
केन्द्रको निर्णय नआएका कारण कर्मचारीले मात्रै त्यसको ब्यवस्थापन गर्न चुनौती बढेको छ । आईतबार ११ बजे प्रदेश सांसदहरुलाई सपथ खुवाउने कार्यक्रम छ । त्यसका लागि पनि कार्यक्रम स्थल तोकिएको छैन । ‘११ बजेलाई कार्यक्रम फाईनल भयो । भेन्यु चाहीँ टुंगिएको छैन, उनले भने–सम्भवतः सभागृह वा नगरप्रशिक्षण केन्द्र मध्ये कुनै एक ठाउँ हुन सक्छ ।’ कार्यक्रम स्थलका बारेमा सांसदहरुलाई जानकारी पनि गराईएको छैन । प्रदेशसभाका लागि नगर प्रशिक्षण केन्द्र उपयुक्त भनि सिफारिस गएकाले सोही कार्यालयमा सपथ ग्रहणको कार्यक्रम हुन सक्नेछ । सिफारिस समितिले प्रदेश कार्यालय र मन्त्रालयका लागि सम्भावित भवनहरु अध्ययन गरेर केन्द्रमा बुझाएको थियो । सिफारिससँगै मर्मत सम्भारका लागि २८ करोड रुपैयाँ खर्च माग गरिएपनि हालसम्म बजेट निकासा भएको छैन । ‘बजेट नै नआएपछि मर्मत सम्भारको काम हुन सकेन । अपरझट कार्यालय ब्यवस्थापन गर्नुपर्दा समस्या भैरहेको छ, सह क्षेत्रीय प्रशासक तथा सिफारिस समितिका संयोजक बाबुराम गौतमले भने–स्थानीय रुपमा यताउती गरेर म्यानेज गरेका छौं । विस्तारै सस्टेन हुँदै जानेछ ।’ सरकारले सातवटै प्रदेशका लागि एकमुष्ट १ अर्व ७ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । तर निकासा भने भएको छैन ।
राजनीतिक सहमति हुन नसकेपछि सरकारले बुधबार काम चलाउने केन्द्रको रुपमा प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको हो । नयाँ सरकार गठनसँगै राजधानी दायाँबायाँ हुन सक्ने भएकाले तत्काल मर्मत सम्भारमा चासो नदिएको बुझिएको छ । अरु प्रदेशको किचलोले निर्विकल्प राजधानी पोखरालाई पनि समस्यामा पारेको सांसदहरु बताउँछन् । ४ नम्बर प्रदेशका लागि प्रदेशसभाको कार्यालय नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रमा राख्न सिफारिस भएको छ भने मुख्यमन्त्रीको कार्यालय सीप विकासको भवनमा रहनेछ । मुख्यमन्त्रीको निवास क्षेत्रीय सिँचाईको आवासमा हुनेछ भने प्रदेश सभामुखको अफिस पर्यटन कार्यालय पोखरामा राखिनेछ । प्रदेशप्रमुख चाहीँ क्षेत्रीय प्रशासन कार्यालय र नजिकै रहेको अध्यागमन कार्यालयमा रहने छन् । ४ नम्बर प्रदेशमा अधिकतम १२ वटा मन्त्रालय हुने अनुमान सहित विभिन्न १२ वटै कार्यालयलाई मन्त्रालय बनाउन सिफारिस पठाईएको क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए । यसका लागि क्षेत्रीय र प्रयोग विहिन रहने भनि किटान गरिएका जिल्ला तहका कार्यालयहरु सिफारिस भएका छन् ।