प्रदेश नं ४ को नीति तथा कार्यक्रम आज

पोखरा, जेठ २५ ।

प्रदेश नं ४ को सरकारले आज आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले केन्दि«य सरकारले दिएको समानीकरण अनुदान लगायत २६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गरी संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासमा जोड दिएको प्रदेश सरकारले यसपटक भने भौतिक पूर्वाधारलाई जोड दिएर नीति तथा कार्यक्रम ल्याउन लागेको जनाईएको छ । नीतिगत कुराहरुमा भने पहिल्यैका कार्यक्रमलाई निरन्तरता दिइएको छ । पहिला आंशिक बजेट र अहिले पूर्ण बजेटको कुरामात्रै फरक रहेको र नीतिगत कुरामा कुनै फरक नरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विशेष गरी उज्यालो प्रदेश, सडक, खानेपानी, पर्यटक बढाउने गरी होटल, होम स्टे लगायत पूर्वाधार बढाउने योजना सरकारको नीति तथा कार्यक्रममा समावेश छन् । भौतिक पूर्वाधार, कृषि, सामाजिक, उर्जा, औद्योगिक, जलस्रोत र खेलकुद लगायत क्षेत्रलाई बढी महत्व दिइएको छ ।

अघिल्लो नीति तथा कार्यक्रममा आव २०७५र०७६ लाई प्रादेशिक संरचना निर्माण वर्षको रुपमा कार्यान्वयन गर्ने, लगानी केन्द्रित नीति तथा योजनालाई प्राथमिकता राखिएको थियो । त्यसैका आधारमा भौतिक पूर्वाधार बिकासमा यसपटक जोड दिइएको हो ।