प्रदेशसभा सांसदको शपथ भोलि (मुख्यमन्त्री कहिले बन्छन् ?)

पोखरा, माघ ६ ।
नवनियुक्त प्रदेश प्रमुखले कार्यभार सम्हालेसँगै ४ नम्बर प्रदेशका सांसदहरुलाई आईतबार सपथ खुवाउने कार्यक्रम तय भएको छ । शुक्रबार प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि सोही प्रतिबेदनका आधारमा प्रदेश सांसदको सपथ खुवाउने तयारी थालेको हो । आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यो भन्दा अघि नै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानूनी बाध्यताका कारण प्रदेश प्रमुखहरु उक्त तयारीमा लागेका हुन् ।
४ नम्बर प्रदेशमा ६० सांसद छन् । त्यसमध्ये ३६ जना प्रत्यक्ष र बाँकी २४ जना समानुपातिक तर्फका हुन् । सांसदहरुलाई नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको हलमा सपथ खुवाउने तयारी मिलाईएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । सपथ ग्रहणको कार्यक्रम आईतबार विहान ११ बजेका लागि राखिएको छ । प्रदेश प्रमुख शपथलगत्तै उनीहरुलाई तत्कालका लागि मन्त्रिस्तरको सुरक्षा तथा सेवा सुविधा उपलब्ध गराइएको छ । सबै प्रदेश प्रमुखसँगको छलफलपछि आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यलाई सम्बन्धित प्रदेशमै शपथ गराइसक्नुपर्ने आयोगको निर्देशन छ ।
प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । उक्त बैठकले मुख्य मन्त्री र प्रदेश सरकार चयन गर्नेछ ।