प्रदेशसभा सञ्चालन–भवनको भाडामात्रै दैनिक १३ हजार

प्रकाश ढकाल
पोखरा, माघ १८ ।
प्रदेश ४ का लागि तोकिएको प्रदेशसभा बैठक पोखराको नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको सभाहलमा बस्दैछ । संघीय संरचनामा मुलुक विभाजित भैसकेपछि ऐतिहासिक पहिलो बैठक यो प्रदेशका लागि २२ गते डाकिएको छ । यतिबेला शहरी विकासको अगुवाईमा सभाहल र सचीवालयको मर्मतसम्भार धमाधम चलिरहेको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान मार्फत सञ्चालन हुँदै आएको नगर प्रशिक्षण केन्द्रका दुई भवनहरु प्रदेशसभा र सचीवालयमा प्रयोग हुनेछ । भवन प्रयोग गर्दा भाडा मात्रै दैनिक १३ हजार उठ्छ । नगर प्रशिक्षण केन्द्रले प्रदेशसभामा प्रयोग हुने ३ वटा कोठाको दैनिक ६ हजार तथा सचीवालयमा प्रयोग हुने ५ कोठा र ३ वटा सभाहलको ७ हजार खर्च निकालेको छ । हिसाव गर्दा दुई वटा भवन प्रयोग गरे वापत प्रदेश सरकारले बर्षेनी झण्डै ५० लाख भाडा मात्रै तिर्नुपर्छ । ‘प्रदेशसभाका लागि प्रयोग गर्न लागिएका भवनको दैनिक भाडामात्रै १३ हजार भन्दा बढी हुन्छ । तर सरकारले प्रयोग गर्ने भएपछि केही सस्तोमा दिन पनि सकिन्छ, नगर प्रशिक्षण केन्द्र पोखराका सूचना अधिकृत बुद्धी घिमिरेले भने–हतारको प्रयोगले केही बोलेका छैनौं । छिट्टै दुई पक्ष बसेर भाडादर कायम हुन्छ ।’ नगर प्रशिक्षण केन्द्रले भाडाबाट उठेको रकमबाट आफ्ना कर्मचारी ब्यवस्थापन गर्दै आएको छ । प्रतिष्ठान नेपाल सरकारकै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मातहतमा रहेर काम गर्ने संस्था हो ।
प्रदेश संरचनापछि पहिलो पटक बस्ने बैठकबारे धेरै सांसद र खटिएका कर्मचारी समेत अनविज्ञ छन् । उनीहरुलाई सहजीकरण गर्नका लागि सरकारले संसदीय मामिलाका ४ जना जानकारलाई पोखरा पठाएको छ । पोखरा आएपछि उनीहरु प्रदेशसभा बैठकको तयारीमा जुटेका छन् । सभाहलको ब्यवस्थापन र आवश्यक कागजी काम निम्ट्याउने काममा लागिरहेको मन्त्रालयबाट खटिएका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए । ‘अहिले त हामी पनि सुत्ने खाटबाटै काम गरिरहेका छौं । प्रदेशका मुख्य सचिवसँग कम्प्युटर र कुर्ची टेवुल मागिरहेका छौं, उनले भने–त्यसपछि बैठक अघि गर्नुपर्ने तयारी थाल्छौं । सांसदको परिचयपत्र देखि कार्य्विधी छपाईमा पनि बैठक अघि नै सक्नुपर्छ ।’ उनका अनुसार प्रदेशको कार्य्विधी केन्द्रबाटै ड्राफ्ट तयार गरेर ल्याईएको छ । त्यसबारे सर्वदलीय भेलामा छलफल गर्ने र प्रदेशसभाको पहिलो बैठकबाट नै पारित गर्ने योजना छ । यद्यपी सांसदहरु पोखरामा नभएकाले सर्वदलीय बैठक बस्न ढिलो भैरकेको बुढाथोकी बताउँछन् । ‘हामी आएको बारे जेष्ठ सदस्य (अस्थायी सभामुख) लाई जानकारी गराईसकेका छौं । वहाँ १९ गतेमात्रै पोखरा आउने कुरा छ, उनी भन्छन्–वहाँसँगै छलफल गरेर सर्वदलीय बैठक बोलाउने हो । सम्भवतः २० गते सर्वदलीय बैठक बस्न सक्छ ।’
नेताहरुसँग छलफल गरेरै सांसदको बोल्ने समय निर्धारण हुने प्रदेशसभाका लागि खटिएका उपसचिव गोपाल सिग्देलले जानकारी दिए । ‘हामी त सहयोग गर्ने हो । निर्णय गर्ने पावर हामीसँग छैन, उनी भन्छन्–सर्वदलीयले गरेको सुझावका आधारमा सभा सञ्चालन फारामको ढाँचा र परिचयपत्र तयार हुन्छ । उनीहरुसँगै सुझाव मागेर कार्य्विधी पारित गर्छौं ।’ प्रदेशसभा सञ्चालनका लागि सरकारले २७ जना कर्मचारी खटाएपनि हालसम्म हाजिर नभएका उनले बताए । ‘२७ जनालाई खटाएको सूचना पढेको हो । अहिलेसम्म कोही पनि आईपुग्नु भएको छैन, उनले थपे–हामीलाई सहजीकरणका लागि मात्रै भनेर पठाएको हो । कर्मचारी नआएपछि सबै काम आँफै गर्नुपरेको छ ।’ सरकारले खटाएका ४ कर्मचारी बढीमा १ महिना पोखरा बस्छन् । यहाँ रहँदा संसद सञ्चालनको प्रक्रियाबारे कर्मचारीलाई सिकाउँछन् । पहिलो दिनको सभा सहज रुपमा सम्पन्न गर्नका लागि पूरापूर तयारीमा लागिसकेको प्रदेशका मुख्य सचिव लक्ष्मण अर्यालले बताए ।