प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तोक्ने तयारी

काठमाण्डौं, मंसिर २७ ।
संघीय संरचनाअनुसार प्रदेशसभा सञ्चालन गर्ने कार्यालयबारे अध्ययन भैरहेको छ । यद्यपी यसबारे शहरी विकास मन्त्रालयले अन्तिम निर्णय सार्वजनिक गरिसकेको छैन । पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा, धरान, इटहरी वा विराटनगर, प्रदेश नं २ को जनकपुर वा वीरगन्ज, प्रदेश नं ३ को मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, बुटवल वा दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुरमा अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने स्थल, प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीको कार्यालय लगायतस्थल तोक्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशसभा सदस्य संख्याका आधारमा प्रदेशसभा सञ्चालन गर्न पुग्ने गरी सरकारी भवनको अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता शम्भु केसीले बताए । “सभा भवनलगायत संरचना अध्ययनका लागि क्षेत्रीय प्रशासकको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र जुन कार्यालय खाली गर्न खोजिएको हो त्यसका प्रमुख रहेको समिति गठन गरेर अध्ययन भइरहेको छ”– उनले भने ।
केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बराल, अर्का सचिव प्रेमकुमार राई र मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको नेतृत्वमा संरचना छनोटको काम भइरहेको छ । प्रदेशसभाको बैठकले प्रदेशको स्थायी राजधानीलगायत संरचनाका बारेमा निर्णय गर्ने भए पनि संविधानअनुसार पहिलो बैठक सञ्चालनका लागि अस्थायी संरचना तोक्ने तयारी गरिएको हो ।