प्रदेशसभामा दीपक मनाङेलाई ब्यंग्य–‘जनप्रतिनिधि धोएको मुला जस्तो सेतो हुनुपर्छ’

पोखरा, माघ १५ ।
सोमबार प्रदेशसभा सांसदको सपथ लिएका मनाङ (ख) का सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मंगलबार पहिलो पटक प्रदेशसभा बैठकमा भाग लिए । पहिलो बैठकमै उनको सपथबारे विरोध भयो । प्रतिपक्षमा रहेका तीनवटै राजनीति दलले उनको सपथलाई लिएर विरोध जनाए ।

नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले मनाङेको सपथले संसदीय मर्यादा कमजोर भएको आरोप लगाए । उनीहरुले बैठकमा विशेष समय लिएरै सपथ प्रकरणको विरोध जनाए ।

काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले यो सपथले सभामुखले गलत निर्णय गरेको गुनासो गरे । ‘सबै अधिकार वहाँलाई छ तर राय सल्लाह त हामीसँग पनि लिनुपर्छ । सपथ जस्तो औपचारिक कार्यक्रम गर्दा पनि किन सुटुक्क गर्नुपर्यो ?, उनले भने–सभामुख ज्यूले राजनीतिक दवावमा परेर संसदको गरिमा कमजोर पार्नुभएको छ । यो सपथप्रति हाम्रो विरोध छ ।’

राष्ट्रिय जनमोर्चाका संसदीय नेता कृष्ण थापाले संसदले आफ्नो बाटो विराउन नहुने बताए । ‘सम्मानित सदनमा पहिलो बैठकमा प्रदेशको माननीयको सपथ किन भएन भनेर सोधेको थिएँ । दोश्रो पटक मनाङमा पुनः निर्वाचनको कुरा उठाएको थिएँ । र आज म तेश्रो पटक बोल्दैछु, उनले भने–हिजो जुन हिसावले सपथ भयो । यो युक्तिसँगत र न्यायसँगत छैन । त्यसकारण हाम्रो दलको तर्फबाट असहमति राख्न चाहान्छु ।’ उनले जनप्रतिनिधि विवादित हुन नहुने तर्क राखे । ‘जनप्रतिनिधि धोएको मुला जस्तो सेतो हुनुपर्छ र उसमा नैतिकता हुनुपर्छ । त्यसकारण हामीले यही नजिर कायम राख्नुपर्छ–उनले भने ।’

नयाँ शक्तिका दलिय नेता हरिशरण आचार्यले पूराना नजिर हेरेर निर्णय गर्नुपर्नेमा ऐन र नियमको आडमा गलत काम गरिएको बताए । ‘यस्ता विवादित बिषयमा निर्णय गर्दा पूराना नजिरहरु हेर्नुपर्छ । ऐन र नियम मात्रै पल्टाएर हुँदैन, उनले भने–निर्णय सही र गलत हेरिन्छ । यसको दीर्घकालीन प्रभाव हेरिन्छ । तर यहाँ त्यस्तो भएन ।’ यो सपथ ग्रहणको निर्णय योभन्दा पहिले कहिल्यैपनि नभएको उनले तर्क गरे ।