प्रदेशसभाको हिउँदे अधिवेशन सकियो

प्रकाश ढकाल
पोखरा, बैशाख २५ ।
लगातार ३ महिना बैठक बसेपछि प्रदेश ४ को हिउँदे अधिवेशन सकिएको छ । गएको माघ ७ गते ५९ सांसदहरुले शपथ लिएसँगै माघ २२ गतेबाट विधिवत रुपमा अधिवेशन सुरु भएको थियो । निरन्तरको ३६ बैठकपछि मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको पत्र सभामुखलाई पठाएका हुन् । सभामुखले पत्र पढेर अधिवेशन अन्त्य भएको घोषणा गरे । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशप्रमुखले अधिवेशन अन्त्य र आह्वान गर्ने प्रावधान छ ।

पहिलो अधिवेशनको अवधिमा प्रदेशसभाले ८ वटा विधेयक पारित गरेको छ । प्रदेशसभा नियमावली सहित, जनप्रतिनिधीको तलव सुविधादेखि विनियोजन विधेयक समेत पारित भैसकेको छ । आन्तरिक कार्यविधि अनुसार सभा सञ्चालन गरेको संसदले फागुन २५ गते प्रदेशसभा नियमावली पारित गरेको थियो । प्रदेशसभा नियमावली, आर्थिक कार्यविधि विधेयक, स्थानीय तहका पदाधिकारीहरुको पारिश्रमिक तथा सेवा सुविधा विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवासुविधा विधेयक, मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक र सेवासुविधा सम्बन्धि विधेयक, प्रदेशस्तरका सार्वजनिक लिखत प्रमाणीकरण विधेयक, विनियोजन विधेयक र स्थानीय तहको सभा सञ्चालन विधेयक संसदबाट पारित गरिएको हो ।

विनियोजन विधेयक र प्रदेशसभा सदस्यहरुको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरिएको हो भने बाँकी सबै विधेयक बहुमतले पारित भएको छ । विनियोजन विधेयकमा काँग्रेस र नयाँशक्ति विपक्षमा उभिए भने प्रदेशसभा सदस्यहरुको पारिश्रमिक विधेयकमा नयाँशक्ति र जनमोर्चा विपक्षी बन्यो भने काँग्रेसले मौन समर्थन गरेको थियो । नियमावली बनेको छोटो समयमै एक पटक नियमावली संशोधन भैसकेको छ भने दुईपटक नियम निलम्बन गरेर विधेयक सदनमा पेश गरिएको थियो ।

आर्थिक कार्यविधि र विनियोजन विधेयक पेश गर्ने बेला नियम निलम्बन गरिएको थियो । नियमावलीको ३ बुँदा संशोधन भएको छ । विधेयक पेश गर्ने समय, समितिका सदस्य थपघट र जनताका महत्वपूर्ण समस्या राख्ने प्रक्रिया हेरफेर गरिएको हो । यो अवधिमा संसदका चारवटै समिति गठन भैसकेका छन् । प्रदेशको नामाकरण र प्रदेश राजधानी तोक्नका लागि पनि समिति गठन भएर चरणबद्ध काम गरिरहेको छ । १ महिनाभित्रै समितिले प्रतिबेदन बुझाएपछि नाम र राजधानीको टुंगो लाग्ने संसद सचिवालयले जनाएको छ ।

हिउँदे अधिवेशन समग्रमा सफल भएको सांसदहरुले प्रतिक्रिया दिएका छन् । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले केही बिषयमा असमझदारी भएपनि साझा एजेण्डामा मतभेद नरहेको बताए । ‘यो हाम्रो नयाँ पाठशाला हो । सबैजना त्यसमा सामेल भएका छौं, उनले भने–नयाँ संरचनामा सबै कुरा जिरो ग्राउण्डबाटै थाल्नुपर्दा नयाँ अनुभुति भएको छ । सबैको साझा उद्देश्य विकास र समृद्धी हो, त्यसैले सहकार्यबाटै उद्देश्य हासिल गर्ने कुरामा हाम्रो जोड छ ।’

काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले प्रदेश ४ नमुना हिसावले अघि बढेको प्रतिक्रिया दिए । ‘सत्तापक्ष–प्रतिपक्ष सबैको काम प्रशंसायोग्य छ । केही कुरामा मतभेद भएपनि सहमतिबाटै टुंगिएका छन्, उनले भने–आगामी दिनमा सबैले आफ्नो जिम्मेवारी अनुसारको काम गरौं । हाम्रो उद्देश्य पूरा गर्न कठिन छैन ।’ उनले नयाँ ब्यवस्थालाई डोहो¥याउन केही कठिन लागेपनि विस्तारै सहज बन्ने विश्वास ब्यक्त गरे ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापा नयाँ अभ्यासमा सिक्दै अघि बढ्ने बताउँछन् । ‘प्रदेश संरचना पूरै नयाँ हो । सबैजना सिक्दै छौं, उनले भने–आगामी दिनमा आयआर्जन हुने ठोस कार्यक्रम ल्याउनुपर्छ । समृद्धीको बाटो बल्ल सुरु हुन्छ ।’ नयाँशक्तिका हरिशरण आचार्यले सहकार्य खोज्दैमा हिउँदे अधिवेशन सकिएको बताए । ‘५ पार्टीमा सहकार्य गर्ने आधार तयार भएको छ । तर केही बिषयमा मतभेद पनि भयो, उनले भने–समग्रमा यो अधिबेशन सत्तापक्ष भन्दा प्रतिपक्ष बढी जिम्मेवार भएर अघि बढ्यो । सत्तापक्षले त्यसको मुल्यांकन गरेन ।’ विशेषगरी नामाकरण र लोगो हिउँदे अधिवेशनले नटुंग्याएको प्रति उनको गुनासो छ ।

अर्को अधिवेशन जेठ दोश्रो सातामात्रै सुरु हुने मौखिक तयारी भएको संसद सचिवालयले जनाएको छ । तर आवश्यक पर्दा सरकारले प्रदेश प्रमुखसँग आग्रह गरेर अधिवेशन बोलाउन मिल्छ । संविधान अनुसार अधिवेशन नचलेको बेला बैठक बस्नुपरे प्रदेशसभा सदस्यको १ चौंथाईले लिखित अनुरोध गरेमा प्रदेश प्रमुखले बैठक बोलाउन सक्नेछन् ।