प्रदेशप्रमुखमा नियुक्त भएपछि के भने बाबुरामले ? (पढ्नुस् विस्तृतमा)

पोखरा, माघ ५ ।
संघीय संरचना अनुसार ४ नम्बर प्रदेशको प्रमुखमा नियुक्त भएका बाबुराम कुवँरले आँफु प्रदेशको अभिभावक बनेर काम गर्ने बताएका छन् । उनले प्रदेशको अन्तराष्ट्रिय छवी स्थापित गर्न निरन्तर लागिरहने प्रतिबद्धता जनाए । प्रदेशप्रमुख आफ्ना लागि चुनौती र अवसर दुवै भएको भन्दै त्यसको सही दिशानिर्देश गर्न हरदम खटिने कुवँरको भनाई छ । डिएनए नेपालसँगको कुराकानीमा उनले प्रदेशको सम्भावना अध्ययन र त्यसको प्रयोगलाई जोड दिने बताए । ‘४ नम्बर प्रदेशको समृद्धी सम्भावना बारे अध्ययन गर्न लगाउँछु । धेरैले पर्यटन र जलविद्युतलाई यहाँको विकासको ढोका मानेका छन्, उनले भने–सपथ लगत्तै तत्कालका काम सकेर सम्भाब्यता अध्ययनमा जुट्नेछु ।’ उनले राजनीतिक कोटाबाट नियुक्त भएपनि कुनै राजनीतिक छन्द नदेखिने गरी समान अस्थित्व स्विकार गर्ने र सोही अनुसार ब्यवस्थापन मिलाउने बताएका छन् ।
‘सरकारले म माथी ठूलो विश्वास गरेको छ । त्यो विश्वास मैले मर्न दिनेछैन, उनी भन्छन्–अवको समय मेरो कुशलता प्रयोग गरेर जनसेवामा लाग्ने हो । त्यसका लागि म तयार छु ।’ अर्घाखाँची सन्धीखर्कमा जन्मिएका कुँवर काठमाण्डौं महानगरपालिका वडा १५ छाउनीमा बस्दै आएका छन् । उनी सरकारको महान्यायधिबक्ता भएर काम गरिसकेका ब्यक्ति हुन् । राष्ट्रपति कार्यालयले शुक्रबार नै प्रदेश प्रमुखहरुको सपथको ब्यवस्था मिलाएको छ । त्यस लगत्तै उनीहरु कार्यक्षेत्रमा खटिने छन् । कुवँर बुधबारको मन्त्रीपरिषद् बैठकबाट ४ नम्बर प्रदेश प्रमुखको रुपमा नियुक्त भएका हुन् ।