प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन–थापा

पोखरा, पुस २८ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारसँग नभएको बताएका छन् । पोखरामा विहिबारदेखि सुरु भएको सफल राष्ट्रिय औद्योगिक ब्यापार मेलालाई सम्बोधन गर्दै उनले सरकारले अस्थायी वा स्थायी कुनैपनि राजधानी नतोक्ने स्पष्ट पारे । ‘प्रदेशको राजधानी तोक्ने बिषयमा विवाद सिर्जना गर्नु आवश्यक छैन । अस्थायी र स्थायी कुनैपनि राजधानी अहिलेको सरकारले तय गर्दैन, उनले भने–राजधानी तोक्ने अधिकार प्रदेशसभाको दुई तिहाईले गर्छ । तर त्यसका लागि कार्य सञ्चालन स्थल अहिलेको सरकारले तोक्छ, अन्यौलमा नपर्नुहोला ।’ प्रदेशप्रमुख र कार्यसञ्चालन स्थल नतोकी प्रदेशसभा नै गठन नहुने भएकाले त्यसको तयारीमा सरकार लागिरहेको उनको भनाई छ । केही दिनमै प्रदेश प्रमुख र अस्थायी कार्यसंचालन स्थलको निर्णय सार्वजनिक हुने थापाले जानकारी दिए ।
उनले पोखरा जनमतबाटै निर्विकल्प राजधानी भएकाले आवश्यक संरचना र ब्यवस्थापनमा लाग्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । ‘राजधानीको बिषयमा विवाद निकालेर सरकारलाई गम्भीर बनाईएको छ । यो विवाद गर्नुपर्ने बिषय होईन, उनी भन्छन्–सम्भावित राजधानीहरु अगाडी नै क्लियर भैसकेका छन् । त्यसमा पोखरा झनै निर्विकल्प हो, यहाँको प्रतिनिधी भएकाले यस्तो भन्ने हैसियत मैले राख्नुपर्छ ।’ उनले निजी क्षेत्रलाई पन्छाएर देशको समृद्धी सम्भव नभएको भन्दै निजी क्षेत्रलाई सरकारको सहयोगीको रुपमा स्थापित गर्नुपर्ने बताए । ‘अहिले सम्वृद्धिको नारा चलेको छ, जुनसुकै गठबन्धनको सरकार बनेपनि देशलाई सम्वृद्धिको बाटोमा अगाडि बढाउने हो भने सरकार एक्लैले सक्दैन’, उनले भने–यसको लागि निजी क्षेत्रको साथ र समर्थन चाहिन्छ । हामी यो बिषयमा क्लियर छौं ।’
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले विकास, सम्वृद्धि र सुशासनको लागि सत्ता र प्रतिपक्ष एकैठाउँमा उभिनुपर्नेमा जोड दिए । ‘यहाँ एउटाले राम्रो काम गरे पनि अर्कोले खुट्टा तान्ने प्रवृत्ति छ’, उनी भन्छन्–यो क्षेत्रलाई सम्वृद्ध बनाउने हो भने राजनीतिक झगडाबाट माथि उठ्नैपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले राजनीतिक दलहरुले निजी क्षेत्रहरुको साथबाट सम्वृद्धिको साझा एजेण्डा तय गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले राजनीतिक दलहरुलाई सम्वृद्धिको लागि एजेण्डासहित काम गर्न आग्रह गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु लगायतले निजी क्षेत्र विकासका साझेदार भएको स्पष्ट पारे । संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव दामु अधिकारीले गरेका थिए । अध्यक्ष पालिखेले हालसम्मको कार्यप्रगतीबारे जानकारी गराउँदै आगामी दिनमा पनि समाजसेवा र आर्थिक विकासका लागि हातेमालो गर्न तयार रहेको बताए । ‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’भन्ने मूल नाराका साथ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित मेला माघ ८ गतेसम्म चल्नेछ । मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पूष्प, अटो, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी हुनेछन् ।