प्रजु प्यानलको आधिकारिक घोषणा, खानेपानी र बधशाला निर्माणमा जोड

पोखरा, भदौ २१ ।
पोखरा उद्योग बाणिज्य संघको आसन्न अधिवेशनका लागि रवीन्द्रबहादुर प्रजुको प्यानल पनि आधिकारिक घोषणा भएको छ । विहिबार पत्रकार सम्मेलन गरी प्रजुले आफ्नो प्यानलका सबै उम्मेदवार घोषणा गरेका हुन् । यो प्यानल काँग्रेस निकट छ । प्रजु प्यानलको बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, बाणिज्य तर्फको उपाध्यक्षमा पवनकुमार प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिचुक्छे र उपमहासचिवमा चिनुकुमारी गुरुङले उम्मेदवारी दिने पक्का भएको छ ।

खुला सदस्यतर्फ बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी छन् । अन्य सदस्यहरु पछि थप हुने प्रजुले बताए । ‘आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रगति’ भन्ने नाराका साथ चुनावमा होमिएको प्रजु प्यानलले व्यवसायिक हकअधिकार तथा पोखराको विकासका एजेण्डाहरु समेत अघि सारेको छ ।

खासगरी ब्यवसायीको समस्या र चुनौति समाधान गर्नकै लागि आफ्नो प्यानल घोषणा भएको अध्यक्षका प्रत्यासी रविन्द्रबहादुर प्रजुले बताए । उद्योग बाणिज्य संघमा कहिलेकाहीँ ब्यवसायीबीच नै फाटो ल्याउने र गरिमालाई बदनियत गर्नेहरुसँग सतर्क रहन उनले आग्रह गरे । ‘कहिलेकाहीँ उद्योग बाणिज्य संघको गरिमालाई नै आँच पुग्ने गरी ब्यवसायीहरु बीचमा दुष्प्रयास र हल्लाहरु गरिन्छन् । विभिन्न नाममा संगठन जन्माएर उद्योग बाणिज्य संघलाई कमजोर बनाउन प्रहार गर्ने कामहरु भएका छन्, उनले भने–तर ब्यवसायीको सामुहिक अठोटका कारण उट्पट्याङ र बदनियतहरु सँधै परास्त भएका छन् । र पछि पनि परास्त हुनेछन् ।’

प्यानलले घोषणापत्र समेत जारी गरेको छ । अनुभव सहितको संगठनले मात्रै संघको गरिमा उकासिने भन्दै पूराना र अनुभवी ब्यवसायीहरु आफ्नो प्यानलमा रहेकोले मतदानका लागि घोषणापत्र मार्फत आग्रह गरिएको छ । पोखरालाई हेर्न लायक गन्तब्य बनाउने, पोखरामा लगानी आकर्षण गर्नका लागि लगानी सम्मेलन गर्न सरकारसँग समन्वय गर्ने, जाईका र स्थानीय सरकारसँग समन्वय गरेर ५ अर्वको खानेपनी सुदृढीकरण तथा शुद्धिकरण परियोजना सञ्चालन गर्ने महत्वकांक्षी योजना अघि सारिएको छ ।

यस्तै, विदेशमा हुने मेला तथा प्रदर्शनीमा पोखरेली ब्यवसायीलाई जाने सहज वातावरण तयार गर्ने, पोखराको ट्राफिक जाम र पार्किङ ब्यवस्थापनका लागि आवश्यक समन्वय गर्ने, पोखरामा विदेशी पर्यटकका लागि लक्षित गरी कोशेली घर स्थापना गर्ने, पोखरा वरपर होमस्टे सञ्चालन गर्न स्थानीय सरकारसँग समन्वय गर्ने, ब्यवसायीलाई विभिन्न शीर्षकमा थुपार्ने करहरुको विरोध सहित बैज्ञानिक कर प्रणालीका बारेमा सरकारलाई सचेत गराउने, अन्य मुलुकको ब्यवसायिक संघ संस्थासँग भगिनि सम्बन्ध कायम गर्ने, पोखरामा अत्यधुनिक बधशाला निर्माण गर्ने, र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर सम्बाद र पहल गर्ने योजना अघि सारिएको छ ।