प्रचण्ड भन्छन्–सरकार गठनपछि भारत सम्बन्ध उचाईमा पुग्छ

काठमाडौं, पुस २४ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन भएपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुग्ने बताएक छन् । नेपाल–भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समूहको नेपाली प्रतिनिधि मण्डलसँगको भेटमा उनले नेपालका राजनीतिक दलहरु मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो भएको भन्दै त्यसले भारतसँगको सम्बन्ध उचो हुने बताए । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिनिधि मण्डलले प्रचण्डसँग भेट गरेको उनका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताए । भेटमा प्रचण्डले नेपाल भारतबीच नयाँ सन्धि सम्झौताको आवश्यकता रहेको समेत बताएका छन् ।
‘नेपाल–भारत बीच विगतका भएका असमान सन्धि प्रतिस्थापन गर्दै बदलिँदो परिस्थितिअनुसार नयाँ सन्धि गर्नुपर्दछ’, भेटमा उनले भने ‘खुल्ला सीमानाको व्यवस्थापन हाम्रो चासोको विषय हो । नेपाल–भारत बीचको सामाजिक–सांस्कृतिक र जनस्तरको सम्बन्धमा हामी सचेत छौं । तर, सीमा व्यवस्थापन गर्दै ढिलो चाँडो हामी सीमा सम्बन्धलाई अरु छिमेकी देशको जस्तै व्यवस्थापन गर्नुपर्छ ।’ भेटमा समूहले नेपाल–भारत सीमा सम्बन्ध र सन्धि पूनरावलोकनबारे भएको प्रगतिबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
प्रतिनिधि मण्डलले हालसम्म पाँचपटक द्वीपक्षीय बैठक बसेको र सन् १९५० को सन्धि र सीमा व्यवस्थापनबारे छलफल जारी रहेको जानकारी गराएको थियो । भेटमा समूहका तर्फबाट डा. भेषबहादुर थापा, निलाम्वर आचार्य लगायत सहभागी थिए । माओवादीका नतोहरु राम बहादुर थापा, वर्षमान पुन लगायत समेत भेटमा सहभागी थिए ।