प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा मर्ज गरे–भट्टराई (भिडियो सहित)

पोखरा, जेठ ५ ।
नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अस्थित्व हराउने डरले एमाले र माओवादी मर्जर भएको टिप्पणी गरेका छन् । संसदीय पत्रकार मञ्च पोखराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनावी बजार सुरक्षित गर्नका लागि मात्रै दुई पार्टीको एकीकरण भएको बताए । ‘बैंकहरु पनि एक्लै एक्लै बजार कायम राख्न नसकेपछि धेरै बैंक मर्जर भएर बजार जोगाउने काम गर्छन् । एमाले र माओवादीले पनि मर्जर सहित आँफुलाई ठूलो बनाएर चुनावी बजार कायम राख्ने प्रयास गरेको छ, उनले भने–यो मर्जरले अव ५ बर्ष त लैजाला त्यसपछि काम गर्दैन । गुणात्मक हिसावले सोचेर दीर्घकालीन योजना बनाउन सकोस् मेरो नयाँ पार्टीलाई पनि शुभकामना छ ।’

दुई पार्टीको एकीकरणले सबैमा जिज्ञासा बढ्नु स्वभाविक भएपनि कुनै अनौठो कुरा नभएको उनको भनाई छ । ‘काँग्रेस, एमाले, माओवादी भनेका लोकतान्त्रीककरणको क्रममा जन्मेका पार्टीहरु हुन् । अव नेपाललाई समृद्धीकरणको खुड्कीलो हुँदै आधारभुत चरणमा प्रवेश गर्ने बैकल्पिक शक्ति चाहिएको छ, उनले थपे–यो अवस्थामा पार्टीहरु कि रुपान्तरित हुनुपर्छ नभए मर्जर गरेर भएपनि आफ्नो अस्थित्व जोगाउनुपर्छ ।’

आफुँले २ बर्षअघि नै रुपान्तरित पार्टी निर्माणको लागि माओवादीसँग प्रश्ताव गरेपनि प्रचण्डले नमानेको उनले खुलासा गरे । ‘नयाँ शक्ति पार्टी सुरु गर्दा रुपान्तरित पार्टी बनाउने प्रश्ताव हो । समृद्धीको जगमा टेकेर उन्नत बाटोमा जाने पार्टी अहिलेको खाँचो छ, उनी भन्छन्–रुपान्तरित पार्टी बनाउन माओवादीलाई प्रश्ताव राखेको हो । प्रचण्डजीले मान्नुभएन । अहिले २ बर्षपछि पार्टीलाई थाम्न नसकेर एमालेमा लगेर मर्जर गर्नुभयो ।’

दुई पार्टीबीचको एकीकरणले पार्टीगत स्वर्थ पूरा भएपनि देशको आवश्यक्ता पूरा नहुने डा. भट्टराईको दावी छ । उनले देशभित्रको एकता कायम, छिमेकी मुलुकसँगको सन्तुलन, दीर्घकालिन विकास जस्ता एजेण्डा स्थापित गर्न नसके केही बर्षभित्रै जनताले नयाँ विकल्प खोज्ने धारणा राखे । विगत हेर्दा कम्युनिष्ट पार्टीको भविष्य पनि टाढा नभएको उनको भनाई छ ।

उनले नयाँ शक्ति पार्टी चाहीँ कसैसँग पनि मर्जर नहुने बताएका छन् । ‘पूराना शक्तिबाट नयाँ बनाउन सम्भव छैन । पूराना शक्तिहरु सुधारिएर आउनुभयो भने स्वागत छ, नत्र नयाँ शक्ति कसैसँग मिल्दैन, उनले भने–निरन्तर देशको दीर्घकालीन विकास र समृद्धीको बाटोमा लागिरहन्छौं । आफ्ना एजेण्डाहरु जनतामाझ लैजान्छौं र गलत कामको भण्डाफोर गर्छौं ।’

अर्को प्रशगंमा पूर्व प्रधानमन्त्री भट्टराईले मोदीको नेपाल भ्रमणले देशलाई तात्विक फाईदा नभएको बताए । ‘मोदी भ्रमणले मोदी र ओलिको सम्बन्ध राम्रो भयो । तर देशका लागि कुनै फाईदा भएन–उनले भने ।’ फेवाताल संरक्षणका लागि पनि अदालतको आदेश पालना गर्न उनको सुझाव छ । म प्रधानमन्त्री बनेकै बेला विश्वप्रकाश लामिछाने जीको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिले प्रतिवेदन बुझाएपछि केही संरक्षणका एजेण्डा बन्दै थिए, उनी भन्छन्–पूरा नहुँदै सरकार ढल्यो । ढिलै भएपनि केही राम्रो संकेत देखिएको छ । कुनैपनि बहानामा फेवा अतिक्रमण हुनुहुँदैन ।’ संसदीय पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विशन क्षेत्रीले गरेका थिए ।