प्रचण्डलाई गठबन्धनबाट चुडाउनुपर्छ–कोइराला

पोखरा, पुस १७ ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशाकं कोइरालाले नेपाली राजनीतिमा पार्टीेले जिम्मेवारी प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्। सत्तापक्षलाई मात्र आरोप लगाएर काँग्रेसको राजनीति सफल नहुने उनले औंल्याए। ‘उनीहरुलाई दोषमात्र देखाएर हुँदैन,’ डा. कोइरालाले भने, ‘हामी जिम्मेवार प्रतिपक्ष पनि बन्नुपर्छ। उनीहरुको सही काममा सहयोग र गलत काममा आपत्ति जनाउनुपर्छ।’ राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आइतबार पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा डा. कोइरालाले यस्तो बताएका हुन्।
डा. कोइरालाले निर्वाचनमा काँग्रेसको हारलाई आफूले ठूलो हार नदेखेको उल्लेख गरे। गणितीय हिसावले काँग्रेसले हारेपनि मतको हिसावले काँग्रेसको हार नभएको उनको तर्क थियो। ‘मतको हिसावले हामीले हारेका छैनौं,’ उनको भनाई थियो, ‘नेपाली काँग्रेसले हार्नाका कारण र समाधान खोजौं। आरोप र प्रत्यारोपले मात्र समाधान निस्कदैन। चुनावी प्रक्रियामा नेपाली काँग्रेसबाट भएको कमी कम्जोरीलाई डा. कोइरालाले श्वीकार गरे। उनले भने, ‘चुनावी प्रक्रियाको टिकट वितरणमा नेपाली काँग्रेसले गल्ती, कम्जोरी गरेकै हो।’ आगामी दिनमा यस्तो गल्ती कम्जोरीलाई सुधार गर्नुपर्ने उनको भनाई थियो। उनले पार्टीले असल कार्यकर्ताको सही मुल्याङ्कन गर्नुपर्नेमा जोड दिए।
डा. कोइरालाले बी.पी. कोइरालाले अपनाएको नीतिलाई पछ्याउन नेपाली काँग्रेसको आम कार्यकर्तालाई आग्रह गरे। सर्वप्रथमतः बी.पी.ले अपनाएको समाजवाद स्थापनातर्फ पार्टी लाग्नुपर्ने उनको सुझाव थियो। उनले बी.पी.ले निर्माण गरेको संगठनलाई सबल बनाए नेपाली काँग्रेसको पुनर्जागरण हुने बिश्वास दिलाए। पार्टी सभापतिलाई मात्र दोष दिएर कोही काँग्रेस उम्कन नसक्ने उनले उल्लेख गरे। उनले पार्टीलाई सुधार गरेरै छाडने प्रतिबद्धतासमेत जनाए। ‘मेरो एउटै उद्देश्य छ, बाँकी पाँच बर्षमा पार्टीलाई सुधार गरेर छाड्नुछ,’ उनले भने, ‘ पार्टीलाई कम मत मिलेको कास्की जिल्लालाई नमूना जिल्लाको रुपमा लैजानु छ।’
नेपाली काँग्रेस कास्कीकी नेतृ शारदा पौडेलले नेपाली काँग्रेसलाई कार्यकर्ताले नभई केन्द्रीय नेतृत्व तहले बिगारेको उल्लेख गरिन्। ‘नेपाली काँग्रेस राजनीतिको मियो हो,’ पौडेलले बताइन्, ‘राजनीतिको मियोलाई कसैले बिगार्न सक्दैन।’ नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि देवराज चालिसेले देशमा साम्यवाद छाएको दावी गरे। उनले कम्युनिष्ठहरुले प्रतिपक्ष विनाको राज्य खोज्नु नै उनीहरुको सर्वसत्तावाद रहेको प्रष्ट पारे। सर्वसत्तावाद ढोल पिटेर नभई बिरालो चालमा आउने उनको तर्क थियो। बिरालो चालमा देशमा सर्वसत्तावादको यात्रा शुरु भइसकेको उनको कथन थियो।
कास्कीका नेपाली काँग्रेस नेता खेमराज पौडेलले बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीतिले देशको ठूला राजनीतिक उपलब्धीहरु प्राप्त भएको औंल्याए। पार्टीको नेतृत्व तहले पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिए। ‘अरुको चियो चर्चो गरेर हुँदैन,’ उनले भने, ‘आफ्नो घर बलियो बनाउनुपर्छ।’ कास्कीबाट प्रदेशसभामा निर्वाचित सदस्य बिन्दुकुमार थापाले चुनावी परिणाम जसको पक्षमा भएपनि देशलाई समृद्धिको दिशामा डो¥याउनुपर्ने बताए। एकता दिवसले पार्टीलाई एकतामा बाध्ने बिश्वास दिलाए। ‘काँग्रेसमा आबद्ध सबै नेतृत्व र कार्यकर्ताहरु अनुशासित बन्नु जरुरी छ,’ उनले भने, ‘केन्द्रदेखि वडासम्म पार्टीलाई शुद्धिकरणमा लैजानुपर्छ।’
कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का क्षेत्रीय सभापति मधु बास्तोला, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, आदिवासी जनजाति महासंघका जितबहादुर गुरुङ लगायतले बोलेका थिए। कास्कीका पार्टी सभापति कृष्ण के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पाण्डेले स्वागत मन्तव्य र सचिव रामराज लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए।