प्रचण्डको खुलासा–अध्यक्ष र प्रधानमन्त्री छोड्ने सहमतिमा पार्टी एकीकरण भएको हो

काठमाण्डौं, भदौ २५ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई वर्ष्भित्र अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद आफूले लिने सर्तमा पार्टी एकीकरण गरिएको खुलासा गरेका छन् । भारतीय सञ्चार संस्था ‘हिन्दुस्तान टाइम्स’का लागि प्रशान्त झासँगको अन्तर्वार्ताका क्रममा उनले उक्त कुरा खुलाएका हुन् ।

चारदिने भारत भ्रमणका क्रममा उनले भारतीय राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले उक्त कुरा बताएका हुन्। भारत भ्रमण सकेर प्रचण्ड आइतबार स्वदेश फर्किएका छन् ।

’यदि यी दुईमध्ये कुनै पद नदिइए के हुन्छ’ भनेर झाले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘त्यसपछि के हुन्छ, हामी हेर्दै जानेछौं । अहिले हामी पूर्ण इमानदार भएर अगाडि बढिरहेका छौं । म त्यही रुपमा नै अघि बढिरहेको छु । भारतीय नेतालाई पनि मैले यही भनेँ ।’

स्थानीय तहको निर्वाचनका बेला नेपाली कांग्रेससँग पनि गठबन्धन गरी निर्वाचनमा जाने विषयमा छलफल भएको उनले उल्लेख गरे । ’५०÷५० प्रतिशत हिस्सा लिएर चुनावमा गइएला भन्ने हामीले सोचेका थियौं तर कांग्रेसले १५ देखि २० प्रतिशतभन्दा बढी हिस्सा दिन चाहेको थिएन,’ उनले बताए । चुनावी फाइदा र स्थायित्वका लागि पार्टी एकता गर्ने उद्देश्यले नै वामगठबन्धन भएको प्रचण्डले बताएका छन् ।