प्रचण्डको उद्घोष– वामदेवजी चुनाव लड्नुहुन्न, कुरै सकियो !

काठमाण्डौं, असोज २६ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सचिवालय सदस्य वामदेव गौतमका लागि उपनिर्वाचन नहुने प्रस्ट पारेका छन् । कागेश्वरी मनोहरा नगरपालिका स्थित आलापोटमा आयोजित दशैंतिहार शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

’विकास निर्माण छाडेर यताउता हुने गरी हामी लाग्दैनौं,’ प्रचण्डले भने-’हिजोदेखि त स्वयं वामदेवजीले नै म लड्दिन भन्नुभएको छ, सकियो कुरा ।’ साथै उनले यस विषयमा चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरे । ’यहाँ कुरा आए रामवीरको राजीनामा, वामदेवले चुनाव लड्ने के–के…,’ प्रचण्डले भने– ’तपाईंहरूले केही टेन्सन लिनै पर्दैन, पार्टी छ, पार्टीले निर्णय गर्छ ।’

यसअघि काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले नेता गौतमका लागि राजीनामा दिएर आफ्नो क्षेत्र खाली गर्न तयार रहेको बताएका थिए । पत्रकार सम्मेलन गरेरै उनले राजीनामा पार्टीलाई बुझाएको घोषणा गरिसकेका छन् । सचिवालयमा छलफलका क्रममा रहेको राजीनामा पार्टीबाट स्वीकृत नहुने भएको प्रचण्डको अभिव्यक्तिले नै प्रस्ट पारेको छ । रामवीरले पार्टीले राजीनामामा स्वीकृति दिएमा सभामुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका थिए ।