प्रकाशमानको घरमा पौडेल समूहको छुट्टै बैठक, यस्तो छ बटम लाइन

काठमाण्डौं, मंसिर २३ ।
आइतबार साँझ हुने संस्थापन पक्षसँगको बैठकअघि इतर समूहको बैठकले विधानको विषयमा आफ्नो धारणा स्पष्ट बनाएको छ । आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको संस्थापन इतर समूहको बैठकले विधानमा आफ्नो ’बटम लाइन’ पनि तय गरेको हो । बैठकमा संस्थापन इतर समूहका अधिकांश नेताको उपस्थिति थियो ।

’विधानको विषयमा सहमति निर्माण गर्नका निमित्त बैठक बसिएको हो । विधानलाई सर्वसम्मत बनाउन केके विषयमा सहमति नजिक पुग्न सकिन्छ भन्ने सल्लाह हो’, बैठकपछि नेता दिलेन्द्र बडुले बताए । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पुनः बस्दैछ । त्यसअघि नै विधानमा दुवै पक्षबीच सहमति कायम गराउने प्रयास भएको हो ।

गत मंसिर ९ गतेको केन्द्रीय बैठकमा पेश भएको नेपाली कांग्रेसको विधानको मस्यौदाका केही विषयमा नेताहरुबीच फरकफरक धारणा छन् । संस्थापनइतर समूहका नेताहरुले भने पदाधिकारीको संख्या बढाउने, निर्वा्चित केन्द्रीय सदस्यको प्रतिशत बढाउने लगाउने विषयमा समान धारणा तय गरेका छन् । पदाधिकारीको संख्या बढाउनुपर्ने र ती सबै निर्वाचित हुनुपर्ने संस्थापन इतर पक्षका नेताहरुको समान धारणा छ ।

त्यस्तै, ८५ प्रतिशत केन्द्रीय सदस्य निर्वा्चित हुनुपर्ने र १५ प्रतिशत मात्रै मनोनित गर्नुपर्ने, प्रस्तावनालाई फरक ढंगले लेख्ने लगायतका विषयमा पनि उनीहरुबीच एकमत छ । संस्थापन पक्षका नेताहरु पनि पदाधिकारीको संख्या बढाउन सहमत नै देखिन्छन् । तर उनीहरुको जोड भने मनोनितको संख्या बढी बनाउनेतिर देखिन्छ । ’बढाउनुपर्छ भन्नेमा लगभग सहमति छ । तर, कति बढाउने भन्ने विषय भने छलफलबाट टुंगो लाग्छ । तर नीतिगत सहमति भएको छ’, बडुले भने ।

आज बस्ने संयुक्त बैठकबाट एउटा निकास निस्कने अपेक्षा नेताहरुको छ । मंसिर २८ देखि पुस ३ सम्म कांग्रेसको महासमिति बैठक बस्दैछ । सो बैठकले नयाँ विधान पारित गर्ने छ ।