पौडेल समूहको विरोधपछि कांग्रेसमा पदाधिकारी मनोनयन रोकियो निर्वा्चित केन्द्रीय सदस्यहरुको बैठक स्थगित

काठमाडौं, वैशाख १७ ।

आज बस्ने भनेको नेपाली कांग्रेसको निर्वा्चित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ । आजको बैठकबाट पदाधिकारी मनोनित गर्ने तयारी थियो । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ । अब कांग्रेस बैठक २१ गते दिउँसो २ बजे बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । सभापति शेरबहादुर देउवाले आज पदाधिकारी मनोनित गर्ने तयारी गरेका थिए ।

तर सभापतिले सहमति नगरी बहुमतीय प्रकृयामा जान खोजेको भन्दै पौडेल पक्षले असहमति जनाउँदै आएको छ । कांग्रेसमा महाधिवेशन भएको २६ महिना पुगिसके पनि पदाधिकारी मनोनयन हुन सकेको छैन । कांग्रेस विधानमा भने महाधिवेशन सकिएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्ने व्यवस्था छ । विधानअनुसार सभापतिले पदाधिकारीमा उपसभापति र महामन्त्री एक(एक जना तथा सहमहामन्त्री दुई जना मनोनित गर्न पाउँछन् ।