पौडेल र सिटौला समूहद्वारा काँग्रेस बैठक बहिस्कार

काठमाण्डौं, फागुन १४ ।
नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहले बहिस्कार गरेको छ । मंगलबार केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समूहका नेताहरुले सर्वसम्मत पार्टीका निर्णयहरु गरिनुपर्ने माग गरेको भएपनि त्यसको सुनुवाई नहुने देखिएपछि बहिस्कार गरेको बताइएको छ ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आफूहरुले बैठकमा सर्वसम्मत रुपमा पार्टीको अनुशासन समिति गठन गरिनुपर्ने माग अघि सारेको तर सभापतिले त्यसमा सुनुवाई नगर्ने देखिएपछि बैठकस्थलबाट बाहिरिएको जानकारी दिए ।

पार्टीका एक नेताका अनुसार बैठक बहिस्कार गर्नेमा पौडेल, सिटौला र केसीसहित नेताहरु प्रकाशमान सिंह, प्रदीप पौडेल, रामशरण महत लगायतका पौडेल र सिटौलापक्षीय नेताहरु रहेका छन् । उनीहरुले बहुमतको आधारमा निर्णय गरेर पार्टी बन्न नसक्ने भन्दै सहमतिको आधारमा अनुशासन समिति लगायतका अन्य निर्णयहरु गरिनुपर्ने माग गरेका छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन समिति र अनुशासन समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले मंगलबार बोलाइएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको जनाएका छन् ।