पौडेल र सिटौला पक्ष नगएपछि कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित

 

काठमाडौं, पुस २ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरी स्थगित गरिएको छ । अर्को बैठक पुस ४ गते बस्ने गरी स्थगित गरिएको हो ।

बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको भनिएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभएपछि बैठक त्यत्तिकै स्थगित गरिएको हो ।

पार्टीको महाधिवेशन, कार्यकाल थप, भ्रातृ संस्थाको नेतृत्व चयन लगायतका विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुरा नमिल्दा पटक–पटक बैठक स्थगित गरिँदै आएको छ ।

सभापति पक्षले जबरजस्ती पेलर जान खोजेको भन्दै पौडेल पक्षले आइतबारको बैठक बहिस्कार गरेपछि यसबीचमा सहमतिको लागि पहल भइरहे पनि कुनै टुंगोमा नपुग्दा बुधबारको बैठक पनि स्थगित गरिएको हो ।

उपसभापति बिमलेन्द्र निधि र नेता प्रकाशमान सिंह नेतृत्वको वार्ता टोलीबीच छलफल भइरहेपनि सहमति बनेको छैन । पार्टीमा देखिएको विवाद समाधानका लागि पहल भइरहेकाले ४ गतेसम्मका लागि बैठक स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यता, बुधबारै पनि पौडेल पक्षको बैठक पौडेल निवास बोहोराटारमा बस्यो । बैठकले नेविसंघ, तरुण दल, विभाग गठन र महाधिवेशनको कार्यतालिका तथा कार्यकाल थपका विषयमा एकै पटक निर्णय हुनुपर्ने अडान दोहो¥याएको छ ।

बैठकमा सहभागि नेता कृष्णप्रसाद सिटौलाले सहमतिको प्रयास स्वरुप नै बैठक स्थगित गरिएको भन्दै सहमतिका लागि पहल जारी रहेको बताए । बैठकमा पौडेल समुहका सबै नेताको सहभागिता रहेको थियो ।

१४ औं महाधिवेशनको कार्यतालिका नल्याउँदासम्म केन्द्रीय समिति बैठकमा नजाने अडान राख्दै बरिष्ठ नेता पौडेल पक्षले बारम्बार बैठक बहिष्कार गर्दै आएको छ ।

सभापति देउवा पक्ष भने पार्टी संरचना समायोजनको काम सकाएपछि कार्यतालिका ल्याउने भन्दै आएको छ । तर देउवा र पौडेल पक्षबीच भएको पटक पटकको छलफलमा सभापति देउवा कार्यतालिका ल्याउन सहमत भएको जनाइएको छ । तर देउवा २०७७ सालको फागुनमा र पौडेल पक्ष मंसिरमा महाधिवेशन गराउने गरी कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन् ।

पौडेल पक्षको अनुपस्थितिमै गत बिहीबार सभापति देउवाले २८ विभाग बढाएर ४१ बनाउनेलगायतका एजेन्डा केन्द्रीय समितिमा पेश गरेका छन् ।
(ईमेजखबरबाट साभार)