पौडेल घटनामा काँग्रेसले भन्यो–’प्रहरीको प्रतिवेदन र महानगरको गतिविधि आपत्तिजनक छ’

पोखरा, असार १७ ।
नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ ।

काँग्रेसले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण सँगै तीन बुँदे माग गरेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कास्की काँग्रेसले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले बेपत्ता सम्वन्धि घटनाको अनुसन्धान पूरा नहुदै अनुसन्धानमा रहेका सूचनाहरु सार्वजनीक गरेको र पोखरा महानगरपालिकाले राजनैतिक आधारमा घटनालाई तोडमोड गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरी उपरीक्षक रानाले अनुसन्धानमा रहेको घटनाको सूचनाहरु सार्वजनीक गर्नु सान्र्दभिक छैन ज्ञापनपत्रमा भनिएको छ – ‘मानवीय संवेदनशीलतालाई समेत बेवास्ता गरी राजनैतिक आधारमा घटनालाई तोडमोड गर्ने पोखरा महानगरपालिकाप्रति गम्भिर आपत्ति छ।’

पोखरा महानगरपालिकाले असार १६ गते शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ उपरीक्षक राना उपस्थित भई अनुसन्धानका क्रममा रहेका सूचना सार्वजनीक गरेका थिए । कास्की काँग्रेसले त्यसलाई घटना तोडमोड गर्ने प्रयासका रुपमा उल्लेख गरेको हो ।

बेपत्ता भएको नौ दिन पुगेको भन्दै ज्ञापनपत्रमा प्रशासन र सम्वन्धित सरकारी निकायबाट भइरहेको खोजी कार्य प्रभावकारी बनाउन भनिएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बेपत्ता पौडेलको खोजी र घटना छानबिनका लागि उच्चस्तरीय वैधानिक समिति गठन गरी सत्यतथ्य सार्वजनीक गर्न, कार्यालयले बरिष्ठ अधिकृत पौडेललाई जिम्मेबारीबाट हटाउने तथा मनोबल गिराउने गरी गरिएका गतिविधि छानविन गर्न र राजनैतिक पूर्वाग्रहका आधारमा अन्य कर्मचारीलाई सरुवा भई आउँदा हाजिर नगराउने तथा कार्यरत कर्मचारीलाई जिम्मेबारीबाट अलग्याउने जस्ता गतिविधि रोक्न माग गरेको छ ।

घटनापछि पोखरा महानगरपालिका र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राना समेत गैरजिम्मेबार भएर प्रस्तुत भएको पायौ ज्ञापनपत्र बुझाउँदै कास्की काँग्रेसका सभापति केसीले भने – ‘यसप्रति हाम्रो ध्यानाकर्षण हुनुको साथै आपत्ति छ ।’

काँग्रेसका नेता शुक्रराज शर्माले बेपत्ता भएको घटनाप्रति पूर्वाग्रही बने गम्भिर अवस्था सृजना हुने उल्लेख गरे । ज्ञापनपत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बेपत्ता पौडेलको खोजी भैरहेको जानकारी दिए । उनले बरिष्ठ अधिकृत पौडेललाई मनोवैज्ञानिक तनाव दिएको भए त्यसबारेमा पनि छानविन गरिने स्पष्ट पारे ।