पोखरेलीको चेतावनी–’एयरपोर्टमा अवरोध गरे सरकार विरुद्ध संघर्ष गर्छौं’

पोखरा, जेठ २५ ।
दुईबर्षअघि देखि निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बखेडा झिकेर निर्माणमा अवरोध गर्न खोजिएको भन्दै पोखराका अगुवाहरुले भाँजो नहाल्न चेतावनी दिएका छन् । पोखराकै सांसद पर्यटन मन्त्री भएका बेलापनि एयरपोर्ट निर्माणमा देखिएको अन्यौलताले पोखरा प्रति सौतेनि ब्यवहार गरिएको उनीहरुको भनाई छ । शुक्रबार पोखरा उद्योग बाणिज्य संघले अन्र्तक्रिया गरी एयरपोर्ट निर्माणमा अवरोध नगर्न सरकारलाई चेतावनी दिएको छ ।

‘सँधै पोखराको विपक्षमा आवाज उठाउनेलाई कथित विज्ञ समूहमा राखेर एयरपोर्ट निर्माणलाई कमजोर बनाउन खोजिएको छ । सोही विज्ञ समूहले निकालेको प्रतिवेदन पनि सही होईन भन्दै सरकारले झुक्याउन खोजेको छ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले भने–प्रतिवेदन नियतबश आएको छ । साना बडीको जहाज पनि ल्याण्ड गर्न मिल्दैन भन्नु नै विमानस्थल निर्माण नगर भन्नु हो । यो पोखरेलीलाई मान्य छैन ।’

एयरपोर्टको बिषयमा बाहिरिएको रिपोर्टप्रति पर्यटन मन्त्रालय र पर्यटन मन्त्री रवीन्द्र अधिकारीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ । ‘विज्ञ समुह नै गलत मान्छेलाई राखेर प्रतिवेदन बनाउन लाग्नु पर्यटन मन्त्री नै भ्रममा त पर्नुभएन ? नभए ३ दिनसम्म पनि रवीन्द्र जी किन मौन हुनुहुन्छ ?, उनले थपे–सबै काम मैले गरें भन्ने मनसाय वन्द गर्नुस् । जुनसुकै हालतमा विमानस्थल बन्नुपर्छ ।’ विमानस्थलको दीगोपनाका लागि पोखरा पनि सचेत रहेको पालिखेले बताए ।

नेपाली काँग्रेसका सभापति कृष्ण केसीले विमानस्थल निर्माणमा राजनीति नगर्न चेतावनी दिए । ‘हामी अहिले प्रतिपक्षमा छौं । तर कहिलै चर्को बोल्दैनौं, उनी भन्छन्–बिषयले बाध्यताबश काँग्रेसलाई चर्को बनाएको छ । विमानस्थल रोक्ने काम भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ला ।’ विमानस्थल विरोधीलाई परास्त गर्न पोखरेली समूदाय पुनः एक पटक उठ्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा सांसद विन्दुकुमार थापाले अन्तराष्ट्रिय अनुभवले पनि पोखरामा विमानस्थल उपयुक्त र सम्भव भएको बताए । ‘कति साना र कमजोर भूमिमा पनि ठूला विमान ल्याण्ड हुने विमानस्थल बनेका छन्, उनले भने–पोखरामा कुनै समस्या छैन । सबै पोखराको विकास विरोधी आवाज हो ।’ नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखराप्रति काठमाण्डौंको हेपाहा प्रबृत्ति जीवितै रहेको बताए । नेकपाका केन्द्रिय सदस्य राजकाजी गुरुङले विमानस्थल निर्माण अव कुनैपनि हालतमा रोकिन नहुने बताए ।

कार्यक्रमका सहभागीहरुले अवरोध पन्छाएर एयरपोर्टको निर्माण कार्य पूरा गर्न आग्रह गरे । विमानस्थल निर्माणमा दवाव दिनका लागि उद्योग बाणिज्य संघ सहितको टोलिले प्रधानमन्त्री, नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विषयगत मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । ‘रवीन्द्र जीले एयरपोर्ट बन्छ भन्दैमा हामी ढुक्क हुने अवस्था छैन । अव पुनः पोखरेली जाग्नुपर्छ, सहभागीहरुले भने–रवीन्द्र जीले बनाईदिनुभएको एयरपोर्ट होईन । हाम्रो मेहिनत र अथक प्रयासले यो सम्भव भएको हो । अवरोध फुकाईदिन वहाँलाई आग्रह गर्छौं ।’